तनहुँमा करिब २ करोड ३८ लाख लागतमा कालिका मन्दिर निर्माण

पोखरा न्यूज -२४ , माघ ।

व्यासनगरपालिका–४ स्थित कालिका जङ्गल पार्कमा प्यागोडा शैलीको कलात्मक कालिका मन्दिर निर्माण  थालिएको छ । उक्त मन्दिरलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यले काठ, इँटा र धातु प्रयोग गरी मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण अघि बढाइएको हो ।

सैँतिस हेक्टर क्षेत्रफल वनमध्ये करीब आठ हेक्टर जमीन ओगटेको तनहुँ कालिका शहीद शान्ति पार्क भित्र उक्त मन्दिर निर्माण थालिएको र यसमा हालसम्म रु एक करोड २० लाख खर्च भइसकेको र अझै रु एक करोड १८ लाख अपुग हुने देखिएको मन्दिर निर्माण समितिका कोषाध्यक्ष एकबहादुर रानाले बताए । मन्दिरमा गजुर राखिने र तामाको पाताले छाना छाइने योजना छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालय, पर्यटन मन्त्रालय, स्थानीय विकास मन्त्रालय, व्यासनगरपालिका, जिल्ला समन्वय समिति, तनहुँ उद्योग वाणिज्य सङ्घ, दमौली बजार एकाइको सहयोग र जनसहभागितामा उक्त कार्य अघि बढाइएको हो ।

“एकसय धार्मिक पर्यटकीय गन्तव्यस्थलभित्र तनहुँ कालिकालाई पनिसरकारले सूचीमा राखेर यस वर्षदेखि संवर्धन गर्न थालेको छ,” उनले भने, “शान्त वातावरण र रमाइलो स्थान भएकाले पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्न सक्छ । करीब रु चार लाखको लागतमा मन्दिरको अगाडि भागमा घण्टा झुण्डाइने स्थानमा नौ थरिका इँटा प्रयोग गरिएको छ।”

सदरमुकाम दमौलीबाट करीब एक किलोमिटर दूरीको सिँढी उक्लेर मन्दिर पुग्न सकिन्छ भने मोटरबाट ८०० मिटरबाटो पार गर्नुपर्ने हुन्छ । उक्त बाटोको १०० मिटर कालोपत्र भइसकेकाले बाँकी ७०० मिटर यसै वर्ष कालोपत्र गरिने बताइएको छ ।

उद्यानभित्र के के बनाइन्छ ?

तनहुँ कालिका शहीद शान्ति पार्कस्थल भित्र प्रवेशद्वार, शहीद स्मारक पार्क, बालउद्यान, प्राकृतिक चिडिया घर, टिकट घर र भ्यूटावर निर्माण गर्न बाँकी छ । कालिका मन्दिर निर्माणाधीन अवस्थामा रहेकाले आगामी दशैँअगावै उक्त मन्दिर निर्माण गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाइएको निर्माण समितिका अध्यक्ष मोतिकुमार श्रेष्ठले बताए ।

“यस आवमा पर्यटन मन्त्रालयबाट रु ५० लाख र व्यासनगरपालिकाबाट रु २५ लाख विनियोजन भइसकेको छ ।’’ उनले भने, “उक्त रकमले पनि मन्दिर निर्माण गर्न अपुग हुने भएकाले चन्दा सङ्कलन गरेर भए पनि सम्पन्न गर्ने योजनामा समिति लागिपरेको छ ।”

पानी ट्याङ्की निर्माण

उक्त क्षेत्र उचाइमा रहेकाले सोह्र घनमिटर क्षमताको ट्याङ्की निर्माण गरेर तलको पानीलाई लिफ्टमार्फत ट्याङ्कीमा सङ्कलन गरी निर्माण गरिएका पाँच धाराबाट वितरण गरिने व्यवस्था मिलाइएको छ । धर्मशाला र भवन निर्माणका साथै दुई वनभोजस्थल निर्माण भइसकेका छन् भने दुई वनभोजस्थल थप्ने तयारी भएको छ ।

जमीनमुनिबाट बिजुलीको तार बिछ्याएर बत्तीको व्यवस्था गरिएको छ । पानी र बिजुलीको व्यवस्था भएसँगै वनभोजका लागि आउने आन्तरिक एवं बाह्य पर्यटकले शुल्क तिर्नुपर्ने व्यवस्था मिलाइने समितिले जनाएको छ ।

दमौलीबाट उक्त पार्क पुग्ने स्थलसम्म १८० मिटर कच्ची नाला र ७०० मिटर कच्ची सडक बनाइएकाले सामान ढुवानी गर्न पनि सहज भएको छ । उक्त स्थान पुग्ने कच्ची सडक नहुँदा शुरुशुरुमा मानिसले नै बोकेर सामान लैजानु पर्दा सामानको मूल्यभन्दा ढुवानीमा खर्च महङ्गो पर्न गएको मन्दिर निर्माण समितिका कोषाध्यक्ष रानाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button