लोककवि अली मियाँलाई हेमराज पहारी स्मृति पुरस्कार

पोखरा न्यूज -२४ , माघ ।

लोककवि अली मियाँलाई यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिने भएको छ ।

हेमराज पहारी स्मृति प्रतिष्ठानले सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद १ लाख र ताम्रपत्र छ । लोककविलाई साहित्यकार पहारीको नवौं स्मृति दिवस फागुन १७ गते आयोजना हुने समारोहमा मरणोपरान्त सम्मानित गरिने हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपाने पहारीले बताइन् ।

साहित्यकार अनील पौडेल संयोजक र सदस्य द्वय नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ र साहित्यकार सुमन श्रापित रहेकोे प्रतिभा छनोट समितिले अली मियाँलाई पुरस्कृत गर्न सिफारिस गरेको हो । यसअघि यो पुरस्कारबाट वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी, राप्ती साहित्य परिषद दाङ र स्वर्गीय विमल गुरुङ स्मृति पुस्तकालय धरान पुरस्कृत भइसकेका छन् ।

सोही समारोहमा साहित्यकार पहारीको गीत सञ्चयन ‘हेमराज पहारीका गीतहरु’ पनि लोकार्पण हुनेछ । गीत सञ्चयन हेमराज पहारी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो । पहारीका यसअघि देशको अभिभारा कविता सञ्चयन र उत्तरी गोलार्द्धको एक फन्को नियात्रा प्रकाशित छन् ।

लोककवि अली मियाँको जन्म १९७५ फाल्गुन १५ गते हाल पोखरा १३ को मियाँपाटनमा भएको हो । सरल भाषामा गहिरो भाव पोख्न खप्पिस लोककवि जीवनभर नेपाली गाउँबेसीका भाका गाउँदै हिडे । उनको २०६३ साउन १८ गते निधन भयो । उनका केही गीत हरिदेवी कोइराला, प्रेमराजा महत, पद्यराज ढकाल, ठाकुरप्रसाद सीग्देल, दुर्गा रायमाझी, पुरुषोत्तम रायमाझी लगायतले गाएका छन् ।

अलीमियाँ धार्मिक सहिष्णुताका एक नमूना थिए । उनको योगदान, कृति र समग्र लोक साहित्यको विकासका लागि अली मियाँ लोक वाङ्मय प्रतिष्ठान क्रियाशील छ । उनका प्रकाशित कृतिमा वीरक्तलहरी, महेन्द्रलहरी, न्याउलीको पुकार, पहाडको उद्गार, सेतीको सुस्केरा, उज्यालो भैसक्यो, सम्झनाको दीयो, अलि मियाँको आवाज छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button