‘सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण’

पोखरा न्यूज -२५ , माघ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार र प्रदेशसभालाई प्रभावकारी बनाउन सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।

संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले संसद् जनताको समस्या समाधानको थलोका रुपमा विकसित हुनुपर्नेमा जोड दिए । जनतालाई सुसूचित गराउन पत्रकारिता क्षेत्रले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिँदै उनले सङ्घीय शासन प्रणालीलाई स्थापित गर्दै तीनवटै सरकारबीच समन्वय अपरिहार्य रहेको बताए ।

पत्रकारिताको माध्यमबाट प्रदेशसभा र सरकारका गतिविधिलाई सत्यतथ्यमा आधारित समाचार संप्रेसणमार्फत  जनतालाई सुसूचित गराउन सहयोगी बन्नुपर्नेमा उनको जोड थियो । संसदीय प्रणालीलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने वर्तमानको आवश्यकता भएको उल्लेख गर्दै उनले शान्तिपूर्ण सङ्घर्षको माध्यमबाट समृद्धि प्राप्त गर्न सकिने धारणा राखे ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा नयाँ अभ्यास भएकाले सञ्चार क्षेत्रले यसका गतिविधिलाई वैज्ञानिक ढङ्गले सहयोग गर्नुपर्ने बताए। आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सञ्चार क्षेत्रले सरकार र जनताबीचको पुलको भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले मुलुकको सङ्घीय संरचनालाई प्रभावकारी बनाउन सञ्चार क्षेत्रले भूमिका खेल्दै आएको बताए । मञ्चका अध्यक्ष लालप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपसभामुख सिर्जना शर्मा, प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेल, प्रदेशसभा सदस्यद्वय मीना गुरुङ र कुमार खड्का, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, मञ्चका उपाध्यक्ष भरत कोइरालालगायतले संसद्को रिपोर्टिङ थप जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button