पोखरा न्यूज -२५ , माघ ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले मानव सेवामा समर्पित रेडक्रस सोसाइटीले सङ्घीय संरचनाअनुसार सेवा विस्तार गर्नुपर्ने बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटीको ३५औँ साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले मुलुकमा प्राकृतिक प्रकोप होस् वा द्वन्द्वका अवस्थामा रेडक्रसकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । सरकारले गाउँपालिकामा १५ श्ययाको अस्पतालको परिकल्पना गरेको बताउँदै उनले रेडक्रस सोसाइटीले पनि रक्तसञ्चार केन्द्र विस्तारमा जोड दिनुपर्ने बताए ।
मुलुकमा विपद् पर्दा सरकारभन्दा रेडक्रस मानवीय सेवामा अगाडि पुग्ने गरेको बताउँदै सभामुख अधिकारीले यस संस्थामा आबद्ध स्वयंसेवकले सात सिद्धान्तलाई भुल्न नहुने बताए । रेडक्रसका गतिविधिमा संलग्न एवम् सामाजिक सेवामा समर्पित सामाज विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
शाखाका सभापति डोलराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष आनन्दराज मुल्मी, पोखरा–१७ का वडाध्यक्ष तीर्थ अधिकारी, गैसस महासङ्घका महासचिव रामप्रसाद सुवेदी, प्राध्यापक गेहेन्द्रश्वर कोइराला, रघुनाथ अधिकारी, धर्मराज अधिकारी लगायतले रेडक्रसले मानवीय सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको धारणा राखे ।