पोखरामा आफ्नै श्रीमानको मानसिक तथा शारीरिक दवावले महिलाको मृत्यू भएको आरोप

श्रीमान प्रहरी नियन्त्रणमा

डिएनबी, पोखरा न्यूज- २७, माघ ।

पोखरामा  श्रीमानको मानसिक तथा शारीरिक दवावमा एक महिलाको मुत्यू भएको आरोप लागेको छ । पोखरा महानगरपालिका – १४ का  करिब ४७ बर्षिय राम बहादुर कार्कीले आफ्नी श्रीमती सुशिला कार्की  (पहारी) लाई मानसिक तथा शारीरिक दवावमा मारेको उनका माइती पक्ष तथा स्थानियले आरोप लगाएका छन्।

अर्कै  महिलासंग सम्बन्ध राख्दै राम बहादुरले सुशिलालाई कुटपिट गरी दैनिक जसो यातना दिनेगरेको सुशिलाका भाई उत्तमबहादुर पहारीले आरोप लगाएका छन् । उनले पोखरा न्यूज सँग भने “ उनले अर्को एक महिलासंग सम्वन्ध राखेकोले गर्दा मेरी दिदीलाई  मानसिक तथा शारीरिक दवाव दिई हत्या गरेका  हुन्।”  उत्तमले दिदीको  हत्या गरेको भन्दै  भेना बिरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा  उजुरी दिएकाछन्। त्यसैगरी  स्थानिय  महिला देवि रानाभाट बिरुद्ध समेत उक्त घटनामा संलग्न भएको आरोपमा सुशिलाका आफन्त तथा स्थानियबासिले कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको उनका उत्तमले जनाए । २०५८ सालमा मागी विवाह गरेका कार्की परिवारमा केही बर्ष देखिनै झैँ-झगडा हुनेगरेको र भेनाले दिदीलाई कुटपिट गर्ने गरेको दिदीले बताउदै आएकोमा केहिदिन अगाडि निर्घात कुटपिट गर्दा दिदी अर्कोको घरमा गुहार मागेर बस्न समेत परेको भाई उत्तमको भनाई छ ।

घरायसी झगडाका कारण गत पुष १२ गते श्रीमानबाट निर्घात कुटिएकी सुशिलालाई पोखराको गण्डकी मेडिकल कलेजमा उपचार गर्न लगिएको स्थानियले बताए । निर्घात कुटपिट गरेका श्रीमानलेनै  उपचार गर्न सुशिलालाई अस्पताल पुर्याएका  थिए । श्रीमानले बारम्बार कुट्पिट गर्दै  धम्काउने गरेको स्थानिय सामु कार्कीले गुनासो गरेकी थिईन । आफू मरेमा आफ्ना सन्तानलाई हेरिदिन समेत उनले स्थानिय माझ आग्रह गरेको स्थानियको भनाई छ  ।

करिब दुई हप्ता जसो उपचार पछि शुशिला सामान्य हिड डुल गर्न सक्ने अबस्थामा पुगेसंगै उनलाई थेरापीको लागि स्पर्श आयुर्वेद अस्पतालमा लगिएको थियो। शुशिलाकी आमा बाटुली पहारीका अनुसार आफूले छोरीलाई खाना खुवाएर घर पुग्दा ज्वाईंले छोरी मरेको खबर दिएको गुनासो गरिन्। गत बिहीबार ठिकै अवस्थामा छोडेर आएकी छोरी कसरी एक्कासी मरिन् भन्दै उनले ज्वाई राम बहादुरले अर्की बिहे गर्न चाहेर घाँटी थिचेर मारेको उनले आरोप लगाइन ।

शुशिलाको शव पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ । उक्त घटनाको बारेमा हाल कार्कीका आफन्तले श्रीमान राम बहादुर कार्कीले मारेको उजुरी दिएकोले उनलाई नियन्त्रणमा लियर अनुसन्धान भईरहेको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. रविन्द्रमान गुरुङले पोखरा न्यूजलाई बताए । उनले भने “ प्रारम्भिक चरणमा हेर्दा कार्कीको बाहिरि चोट खासै देखिदैन, पोष्टमाटम तथा मेडिकल रिपोर्ट आए पछि उक्त घटनाको बारेमा जानकारी हुन सक्छ । ”

लामोसमय देखि मानसिक तथा शारीरिक यातना दिएका कार्कीले पछिल्लो समयमा बढी कुटपिट गरेपछि मात्र आफन्तलाई जानकारी भएको शुशिलाका आफन्त वलराम पहारीले बताए । उनले घटनाको बारेमा सत्य तथ्य बुझेर यथार्थ सार्वजनिक गर्न प्रहरी समक्ष आग्रह गरेकाछन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button