स्थानीय तहको पाठ्यक्रम निर्माणमा बेनी नगरपालिका

पोखरा न्यूज- २८, माघ ।

म्याग्दीको बेनी नगरपालिकाले आगामी शैक्षिक वर्ष २०७६ देखि बेनी नगरपालिका क्षेत्रका विद्यालयमा स्थानीय तहको पाठ्यक्रम लागू गर्ने भएको छ ।

आगामी शैक्षिक वर्षदेखि नै स्थानीय तहका विषयवस्तु राखिएको पाठ्यक्रम निर्माणका लागि नगरकार्यपालिकाले पाठ्यक्रम निर्माण गर्न शुरु गरेको हो । नगरपालिकाको पाठ्यक्रम निर्माण समितिले स्थानीय विषयवस्तुमा आधारित रहेर पाठ्यक्रम निर्माणका लागि काम अघि बढाएको पाठ्यक्रम निर्माण समितिको धार्मिक तथा सांस्कृतिक विषयका संयोजक कृष्णबहादुर बानियाँले जानकारी दिए ।

समितिले विभिन्न विषयसँग सम्बन्धित विज्ञ तथा सरोकारवालासँग छलफल गरेर पाठ्यक्रम निर्माणका लागि सुझाव सङ्कलन गरेको जनाएको छ । म्याग्दी जिल्ला र बेनी नगरपालिकासँग सम्बन्धित विभिन्न विषयलाई समेटेर पाठ्यक्रम बनाउन शुरु गरिएको पाठ्यक्रम निर्धारण समितिका संयोजक सोमनाथ ढुङ्गानाले बताए ।

म्याग्दीका प्राकृतिक स्रोतसाधनका साथै धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटन, कृषि, उद्योग, वन, वन्यजन्तुलगायतका विषयलाई पाठ्यक्रममा समेटिने नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले बताए ।

मगर भाषा उत्थान मञ्च गठन

लोपोन्मुख अवस्थामा रहेको मगर भाषाको संरक्षण र उत्थानका लागि म्याग्दीमा मगर भाषा उत्थान मञ्च गठन गरिएको छ । जिल्लाभरि छरिएर रहेका मगर जातिलाई एकीकृत गरी आफ्नो भाषा र संस्कृतिको संरक्षण र उत्थान गर्नुका साथै नयाँपुस्तालाई भाषिक ज्ञान प्रदान गर्ने उद्देश्यले संस्था गठन गरिएको मगर भाषा उत्थान मञ्चका अध्यक्ष इन्द्रबहादुर आलेमगरले जानकारी दिए ।

मगर भाषाका शब्द र तिनको अर्थ नयाँपुस्तालाई बुझाउन, आफ्नो भाषाप्रति अपनत्वबोध गराउन, बोल्नलेख्न सक्ने गराउन र अत्यन्तै समृद्ध र रमाइलो मानिने मगर संस्कृतिको संरक्षण गर्न उत्थान मञ्चले सदुमकाम बेनीमा बृहत हिज्जे प्रतियोगिता आयोजना गरेको छ ।

आगामी फागुन ९ गते अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर मञ्चले सदरमुकाम बेनीबजार मगर भाषामा बृहत हिज्जे प्रतियोगिताको आयोजना गर्ने मञ्चका सचिव विष्णुकुमारी रोका मगरले जानकारी दिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button