पर्वतमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई नागरिक अभिनन्दन

पोखरा न्यूज- २८, माघ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई गृहजिल्ला पर्वतमा नागरिक अभिनन्दन गरिएको छ ।

गण्डकी प्रदेशबाटै राज्यको विशिष्ट श्रेणीमा पुग्न सफल भएको भन्दै सम्मानस्वरुप उनलाई नागरिक अभिनन्दन गरिएको हो । पर्वत सदरमुकाम कुश्माबजारमा आइतबारदेखि शुरु भएको गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको उद्घाटनका अवसरमा उनलाई सम्मानपत्र, दोसल्ला, फूलमाला र खादा लगाएर आयोजक तथा महोत्सवमा सहभागी अतिथि र दर्शकले अभिनन्दन गरेका हुन् ।

कार्यक्रममा सहभागी जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभाका सदस्य तथा मन्त्री, सरकारका सचिव र दर्शकले फुलमाला लगाएर अभिनन्दन गरेका थिए । उनीहरुले पर्वत जिल्लाकै इतिहासमा राज्यको सबैभन्दा ठूलो तहमा पुग्न सफल भएको भन्दै जिल्लाको विकास निर्माणले अझै फड्को मार्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

सो अवसरमा बोल्दै अध्यक्ष तिमिल्सिनाले पञ्चायतविरुद्धको आन्दोलनमा पर्वतका प्रत्येक गाउँवासीले माया गरेको, आश्रय दिएको र आफूलाई बचाएका कारण नै आफू यो स्थानमा पुग्न सकेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उनले लामो समय जेल जीवनसमेत बिताएको स्मरण पनि गरे ।

“हुन त म अहिले स्रोतसाधन भएको निकायमा छैन, तर पनि बोली बिक्ने स्थानमा छु, मेरो प्राथमिकतामा मुलुकका ७७ वटै जिल्ला पर्छन् तर आफ्नो जन्मभूमिको माया छुट्टै हुँदोरहेछ”, उनले भने । उनले संयोगले आफ्नो कार्यकाल पनि छ वर्षको भएकाले कार्यकालभरि पर्वतवासीका आशा र अपेक्षा पूरा गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । महोत्सवकै अवसरमा पर्वत जिल्लामा जन्मिएर राज्यका विशिष्ट श्रेणीमा पुग्ने व्यक्तिलाई सम्मान गरिएको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रस्तावित अध्यक्ष बालानन्द पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री, नेपाल प्रहरीका पूर्वडिआइजी ज्ञानेद्रविक्रम महतलगायतलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

महिलाको मात्र व्यवस्थापनमा सञ्चालित सामुदायिक रेडियो दिदीबहिनीले आयोजना गरेको महोत्सव फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा महिला सशक्तीकरणसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिएको छ भने राष्ट्रिय महिला भलिबल प्रतियोगिता र भजन, रत्यौलीलगायतका प्रतियोगिता रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button