गोरखामा घर बनाउनै नसक्ने भूकम्पपीडितलाई सहयोग

पोखरा न्यूज- २८, माघ ।

जिल्लामा जोखिममा परेका अतिविपन्न भूकम्पपीडितका लागि घर निर्माण गर्न निर्माण सामग्री र प्राविधिक सहयोग प्राप्त भएको छ ।

जिल्लामा रहेका दुई नगरपालिका र चार गाउँपालिकाभित्रका १०२ जोखिममा परेका विपन्न लाभग्राही भूकम्पपीडितलाई घर निर्माण गर्न सहयोग प्राप्त भएको हो । जिल्लाको शहीद लखन गाउँपालिका, धार्चे गाउँपालिका, सिरानचोक गाउँपालिका र गण्डकी गाउँपालिकाकाभित्रका विभिन्न वडामा घर निर्माण गर्नै नसक्ने अवस्थामा रहेका भूकम्पपीडितलाई सहयोग प्रदान गरिएको हो ।

त्यसैगरी गोरखा नगरपालिका र पालुङटार नगरपालिकाभित्र रहेका असहाय, विपन्न, एकल महिलाका लागि पनि वडा कार्यालयको सिफारिसका आधारमा घर निर्माणको काम शुरु भएको नेपाल आवास निर्माण परियोजना गोरखाका सञ्चार अधिकृत तारा ढकालले जानकारी दिए ।

जिल्लाभरमा अहिलेसम्म त्यस्ताखालका करीब १२ वटा घर निर्माणको काम सम्पन्न भएको र २२ घर निर्माणको काम आधाजसो सकिएको उनले बताए । बाँकी रहेका घर भने निर्माणको प्रक्रियामा रहेको सञ्चार अधिकृत ढकालको भनाइ छ ।

त्यस्ताखालका भूकम्पपीडितलाई घर निर्माण गर्न चाहिने तारजाली, लेवपाइप, रङरोगनलगायत बाहिरबाट खरीद गर्नुपर्ने सामग्री गरी करीब रु ५१ हजार ५०० बराबरको सहयोग गर्दै आएको परियोजनाका इञ्जिनीयर विकास न्यौपानले बताए ।

परियोजनाले आफ्नो कार्य क्षेत्रभित्र दक्ष डकर्मी निर्माणका लागि स्थानीयलाई तालीम दिने गरेको र त्यही सिकाइका क्रममा सहभागी जनशक्तिको प्रयोग गरेर तालीमसँगै विपन्नका परिवारका लागि घर निर्माण गर्ने गरेको इञ्जिनीयर न्यौपानेले बताए ।

घर बनाउन प्रदान गरिएको डकर्मी तालीमबाट विपन्न परिवारले भूकम्प प्रतिरोधी घर पाएको शहीद लखन गाउँपालिकाका वडाध्यक्ष देउबहादुर गुरुङले जानकारी दिए । “स्थानीयलाई भूकम्प प्रतिरोधी घर बनाउन सीप सिक्ने अवसर पनि भयो”, उनले भने , “त्यही अवसरको सदुपयोग गर्दा घर नै बनाउन नसक्ने भूकम्पपीडितका लागि घर पनि भयो ।”

दक्ष प्राविधिकबाट तालीम प्रदानसँगै विपन्न लाभग्राहीका लागि पुनःनिर्माण प्राधिकरणकोे मापदण्डअनुसार घर पनि निर्माण भएको इञ्जिनीयर न्यौपानेको भनाइ छ । कम खर्चमा जस्ता तार प्रविधिमा कसरी भूकम्प प्रतिरोधी घर निर्माण गर्न सकिन्छ भन्ने जानकारी दिन परियोजनाले डकर्मी तालीम प्रदान गर्दै आएको छ ।

“घर बनाउन सक्ने अवस्था नै नरहेपछि छनोटमा परेका अधिकांशले सम्झौतासमेत गर्नुभएको रहेनछ”, इञ्जिनीयर न्यौपानेले भने, “हामीले सम्झाएर घर निर्माण गरिदिने प्रतिबद्धता जनाएपछि बल्ल उहाँहरू सम्झौता गर्न तयार हुनुभएको हो ।”

जस्ता तार प्रविधिअन्तर्गत पुराना सामग्रीको प्रयोग गरेर थोरै खर्चमा घर निर्माण गर्न सकिने भएकाले थोरै सहयोगबाट पनि विपन्न परिवारले नयाँ घरमा बस्न पाएको अर्का इञ्जिनीयर अन्जन श्रेष्ठको भनाइ छ । “यो थोरै लागतमा घर बनाउने प्रविधि हो”, उनले भने, “यो प्रविधिबाट घर बनाउन तालीम दिँदा अत्यन्त कम खर्चमा भूकम्प प्रतिरोधी घर बनाउन चाहनेका लागि पनि सजिलो हुन्छ ।” इञ्जिनीयर श्रेष्ठले यसखालको प्रविधिमा सिमेन्ट गिट्टी र बालुवाको प्रयोग गर्ने ठाउँमा जस्ता र तारको प्रयोग गर्न सकिने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button