‘मास प्रिन्टर’ खरीद प्रक्रिया अघि बढाउँदै यातायात व्यवस्था विभाग

पोखरा न्यूज- ०२ फागुन ।

चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ (एकै पटकमा धेरै प्रति छाप्ने उपकरण) खरीद प्रक्रिया अघि बढाएको छ ।

एक दिनमा झण्डै आठ हजारसम्म छाप्न सक्ने ‘प्रिन्टर’ (मुद्रण यन्त्र) खरीदका लागि बोलपत्र आह्वान भइसकेको विभागले जनाएको छ । यही आवभित्र ‘मास प्रिन्टर’ खरीद गरेर सञ्चालनमा आउने विभागका उपनिर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए । विभागले चालक अनुमतिपत्र छपाइकै लागि १० लाख कार्ड मगाइएको उनले जानकारी दिए।

“यो कार्ड र मास प्रिन्टर दुवै आएपछि सेवाग्राहीले छिट्टै र सजिलै चालक अनुमतिपत्र पाउनुहुनेछ”, उनले भने, “परीक्षा पास भएपछि महिनौँसम्म कुर्नुपर्ने छैन ।” ‘मास प्रिन्टर’ को खरीद मूल्य झण्डै रु पाँच करोड पर्ने उपाध्यायले जानकारी दिए । संविधानले यातायात व्यवस्थाको जिम्मेवारी प्रदेश सरकारलाई दिएको छ । अहिले नै प्रदेश सरकारले ‘प्रिन्टर’ खरीद गरेर चालक अनुमतिपत्र छाप्ने अवस्था नरहेकाले विभागले नै छपाइ गर्ने उनले बताए। उनले भने, “प्रदेश सरकारले आफैँले प्रिन्टर किनेर अनुमतिपत्र छाप्न अझै केही वर्ष लाग्न सक्छ, त्यतिबेलासम्म विभागले नै छपाइ गर्छ ।”

देशभरका यातायात व्यवस्था कार्यालयबाट नयाँ चालक अनुमतिपत्र र नवीकरण गरेर झण्डै चार लाख सेवाग्राहीको चालक अनुमतिपत्र छाप्न बाँकी छ । अहिले सञ्चालनमा रहेको मुद्रण यन्त्रको क्षमता दैनिक तीन हजार रहेको विभागले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button