पोखरा न्यूज – ५, फागुन ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले हालै मनोनित ४ जना सदस्यहरुलाई आइतबार पद तथा गोपनीयताको सपथग्रहण गराएका छन्।
गत माघ २९ गते अध्यक्ष अधिकारीबाट मनोनितमा परेका देवेन्द्र केसी, ऐन कुमार साई, शिवराज आचार्य र राम बहादुर केसीले सपथग्रहण गरेका हुन्।
उता संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले मनोनित सदस्यहरु संघको विधान विपरित अध्यक्षले मनोनित गरेको भन्दै बहुमत सदस्यले नोट अफ डिसेन्ट लेख्दा लेख्दै पनि अध्यक्षले सपथग्रहण गराएको भन्दै असहमति जनाएका छन्। संघका महासचिव अजुर्न पोखरेलले संघको सदस्य हुनको लागि दुई बर्ष साधारण सदस्य भएको हुनुपर्नेमा अध्यक्षले दुई बर्ष नपुगेका २ जनालाई मनोनित गरेको आरोप लगाए ।
अध्यक्ष अधिकारीले भने पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार नै साधारण सदस्यहरुबाट ४ जनालाई कार्यसमिति सदस्यमा मनोनित गरि सपथ गराएको बताए । विधानले समय अवधिको बारेमा निर्वाचित हुने उमेदवारको बारेमा उल्लेख गरेको बताउदै अधिकारीले मनोनित सदस्यको लागि कहि कतै समय अवधि उल्लेख नभएको दाबी गरे । उनले पोखरा न्यूज सँग भने “ संघको यस अघिको कार्यसमितिमा तीन महिना मात्र पुगेका ज्याक तामाङ मनोनित हुनु भएको थियो, यस्तो अभ्यास यस अघि पनि हुदै आएको हो।”
संघमा बिरोधका नाममा राजनीतिक बहुमतको दम्भ प्रस्तुत गरिएको अधिकारीले आरोप लगाए । ”