बागलुङमा करिब १० करोड लागतमा आधुनिक बसपार्क निर्माण कार्य सुरु

पोखरा न्यूज – १५, फागुन ।

आधुनिक बागलुङ बसपार्कको निर्माण अघि बढेको छ ।  शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले हिजो बसपार्कको शिलान्यास गरेपछि निर्माण प्रक्रियाले औपचारिकता पाएको हो । सो अवसरमा मन्त्री राईले व्यवस्थित शहरी विकासमा जोड दिए । “बढ्दो विकास र शहरीकरणसँगै पूर्वाधारमा लगानी बढेको छ,” उनले भने, “समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यअनुरुप सरकार अघि बढेको छ ।”

शहरी विकास मन्त्रालयले सघन शहरी कार्यक्रम, ७७ वटै जिल्लामा व्यवस्थित र सुविधायुक्त सदरमुकाम, मध्यपहाडी लोकमार्ग र हुलाकी सडकमा गरी २७ वटा नयाँ शहर निर्माणको काम अघि बढाएको मन्त्री राईले बताए । शहरी विकास मन्त्रालयअन्तर्गतको नगर विकास कोष र बागलुङ नगरपालिकाको संयुक्त लगानीमा नगरपालिकाको वडा नं ४ मा बसपार्क निर्माणको काम अघि बढेको हो । रु १० करोड ४६ लाख ८७ हजार कूल लागतमध्ये कोषले रु नौ करोड चार लाख ३९ हजार ऋण उपलब्ध गराएको छ ।

नेपाल सरकारका तर्फबाट रु ७५ लाख ३६ हजार ऋण तथा नगरपालिकाको समपूरक कोषको रु २५ लाख १२ हजार रहेको छ । अनुदानतर्फ जर्मन वित्तीय सहयोग संस्थाबाट रु १० लाख, नेपाल सरकारको रु १८ लाख ८९ हजार र समपूरक कोषबाट रु १३ लाख नौ हजार उपलब्ध हुनेछ ।

वार्षिक ५.५ प्रतिशत ब्याजदरमा २० वर्षभित्र तिर्ने गरी नगरपालिकाले कोषसँग गत वर्ष ऋण सम्झौता गरेको थियो । बसपार्क निर्माणमा अब ढिलाइ नहुने नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए  । “व्यस्थित बसपार्क बनाउने वर्षौंदेखिको हाम्रो योजना साकार बनेको छ,” उनले भने ।

नगर विकास कोषका कार्यकारी निर्देशक मणिराम महतले बसपार्कले बागलुङको आर्थिक गतिविधिमा टेवा पुग्ने बताए । उनले बागलुङमा बसपार्कसँगै ढल, सडक, सिटी हललगायत पूर्वाधार क्षेत्रमा कोषले लगानी गरेको उल्लेख गरे । साढे १७ रोपनी क्षेत्रफलमा बन्ने बसपार्क आधुनिक र सुविधायुक्त हुने नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले बताए । पचास ठूला बस, १० वटा मिनी बस अट्ने गरी बन्ने बसपार्कमा दुईतले टर्मिनल भवन, व्यापारिक भवन, वर्कशप, चमेनागृह, विश्रामस्थल, बगैँचाजस्ता पूर्वाधार निर्माण गरिनेछ ।

बसपार्क निर्माणको जिम्मा निर्माण कम्पनी ‘आशिष फेवा जेभी’ले लिएको छ । गत असोजमा ठेक्का सम्झौता गरी काम शुरु गरेको कम्पनीले दश प्रतिशत काम पूरा भएको जनाइएको छ । एक वर्षको ठेक्का अवधि भए पनि केही समय थप्नुपर्ने ठेकेदार कम्पनीका राजु पौडेलले बताए । बसपार्क बनाउन स्थानीयवासीले करीब रु एक अर्ब मूल्य बराबरको साढे १७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

विसं २०५७ देखि बसपार्कका लागि जग्गा व्यवस्थापन गर्न शुरु गरिएको जग्गा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारीले बताए । “बसपार्क बन्ने आशाले निःशुल्क जग्गा दिएका हौँ,” अध्यक्ष राजभण्डारीले भने, “अब समयमै बसपार्क बन्नुपर्छ, ढिलासुस्ती हुनुहुन्न ।”

समितिको नाममा रहेको स्थानीयवासीको ५९ रोपनी जग्गामध्ये १७ रोपनी जग्गा बसपार्क बनाउन नगरपालिकालाई दिइएको हो । ५९ रोपनी जग्गामध्ये ५० प्रतिशत भने जग्गाधनीले फिर्ता पाउनेछन् । ५० प्रतिशतमध्ये नगरपालिकालाई दिएर बचेको १२ रोपनीमा बस्ती नक्साङ्कन, बाटो, ढल, नाली, पानी, बिजुलीजस्ता पूर्वाधार निर्माण गरिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button