हिमपातले गाउँ फर्कनै पाएनन् मनाङवासी

पोखरा न्यूज – १७, फागुन ।

मङ्सिरमा जाडो छल्न जिल्ला बाहिरेका मनाङवासी गाउँ फर्कने समय भएपनि स्थानीय गाउँले यो वर्ष अहिलेसम्म जिल्ला फर्कनसकेका छैनन् ।

वर्षमा एक सिजन मात्र खेतीपाती हुने यस ठाउँमा खेतीपातीको सिजन शुरु भए पनि हाल सम्मको हिमपातले गर्दा जिल्ला फर्कन सकेका छैनन् । हिमपातले कसैलाई छोडेन । सर्वसाधारण, केटाकेटी, कर्मचारी, किसान पशुचौपया खेतीपाती सबै प्रभावित भएको चामे गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्रजङ्ग गुरुङले बताए ।

उहाँका अनुसार खेतीपाती थन्काएर जाडो छल्न जिल्ला बाहिर रहेका मानिस जिल्ला भित्रिएर आफ्नो व्यवसाय र खेतीपाती धमाधम शुरु हुने बेलामा गाउँघर सुनसान भएको छ । कोहीले पहिले नै जिल्ला छाडे, कोही हिमपात पर्न थालेपछि जिल्ला बाहिरेका उनले बताए ।

माघ १५ भित्र जिल्ला आउने मनाङवासी यस पटक भने फागुनको दोस्रो सातासम्म जिल्ला भित्रनसकेका छैनन् । अब त सिजन शुरु भयो भनी आवश्यक सामान लिएर आएका मनाङ्गे भारी हिमपातका कारण लमजुङ बेँशीसहरमा नै अड्किएका छन् । गाउँ जाने भनेर हिँडेको तीन पटक भयो अझै गाउँ फर्कन सकिएको छैन, पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताए  । उनका अनुसार पर्यटकको सिजन शुरुसँगै विदेशी तथा आन्तरिक पर्यटकले खचाखच हुने बेलामा हिमपातले सखाप बनाएको छ । “गाउँभरी मानिस खेतीपाती र आफ्नो व्यवसायमा व्यस्त हुने अवस्थामा गाउँघर नै सुनसान भएको छ ” उनले भने  ।

अहिले मनाङका चार गाउँपालिकामध्ये मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिका सुनसान भएको छ । महीनौं दिनसम्मको निरन्तर परेको हिमपातले अलिअलि भएका मानिस पनि जिल्ला बाहिरेका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए ।

उनका अनुसार जिल्लामा भएका कर्मचारी पनि हिउँ पर्नथालेपछि बिदा लिएर झर्नथालेका छन् । कहिले हिमपात रोकिएला र सहज होला भनेर बस्नु परेको छ । उता नार्पा भूमि गाउँपाकिाका कर्मचारी गाउँपालिकामा बस्न नसकेर सदरमुकाम चामेबाट नै गाउँपालिकाको कामकाज गरिरहेका छन् भने मनाङ ङिस्याङ गाउँपालिका कर्मचारी विहीन नै भएको छ । गाउँपालिकाका लेखापाल कृष्णराज तिमल्सिनाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button