बागलुङ काठेखोला–३ मा स्वास्थ्य चौकी, सामुदायिक भवन र आलु भण्डारण केन्द्र निर्माण शुरु

पोखरा न्यूज – ०४, चैत । काठेखोला गाउँपालिका–३ मा धम्जा स्वास्थ्य चौकी, सामुदायिक भवन र आलु भण्डारण केन्द्र निर्माण शुरु गरिएको छ ।

गण्डकी प्रदेशका भौतिक विकास तथा पूर्वाधारमन्त्री रामशरण बस्नेतले निर्माण गरिने ती भवन शुभारम्भ गर्दै यसले धम्जाको आर्थिक, सामाजिक विकासले गति लिने विश्वास व्यक्त गरे।

धम्जा, देउरालीमा निर्माण हुने स्वास्थ्यचौकी १८ महीनाभित्र पूरा गरिने भएको छ । रु एक करोड ४५ लाख ७६ हजारको लागतमा बन्ने स्वास्थ्यचौकी निर्माणको जिम्मा जुम्ली निर्माण सेवाले पाएको छ ।

यस्तै सायकटेरामा रु ५० लाखको लागतमा बन्ने धम्जा बहुउद्देश्यीय सामुदायिक भवन चालू आवमा भुइँतला मात्र निर्माण गरिने भएको छ क्रमागत योजनामा परेको भवनलाई थप बजेट व्यवस्था गरेर आउँदो आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । दुईतले अत्याधुनिक भवनको लागत रु एक करोड ८७ लाख तोकिएको छ । भवनमा सात कोठा, चार शौचालय, हल, चमेनागृहसहितका संरचना बन्नेछन् ।

सायकटेरामा सञ्चालित सामुदायिक स्वास्थ्य एकाइलाई सोही भवनबाट सञ्चालन गरिने योजना छ । यस्तै असौजेमा बन्ने आलु भण्डारण एवं चिस्यान केन्द्रलाई गाउँपालिकाले चालू आवमा रु आठ लाख बजेट मात्र छुट्टाइएको छ । किसानले उत्पादन गरेको आलुको बिउ संरक्षणका लागि चिस्यान केन्द्र बनाउन लागिएको वडाध्यक्ष यामबहादुर श्रीसले बताए ।

“जग र भुइँतलाको काम यही वर्षभित्र हुन्छ”, उनले भने, “थप बजेट व्यवस्थापन गरेर जतिसक्दो छिटो यसलाई सम्पन्न गर्ने योजना छ ।” गाउँपालिकाले पनि क्रमागत योजनामा पारेर बजेट थप्दै जाने प्रतिबद्धता जनाएको छ । धम्जाको असौजे र ओखले क्षेत्रलाई गाउँपालिकाले आलुको ‘पकेट’ क्षेत्र घोषणा गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button