पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड लगायतका अधिकांश सडकमा खाल्डैखाल्डा

महानगर भन्छ पहिला चिसो भयो अहिले होली लाग्यो

पोखरा न्यूज – १२, चैत । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडसँगै पोखराका अधिकांश सडकमा खाल्डाखुल्डी भेटिन्छन्। यसरी अधिकाशं सडक क्षेत्रमा खाल्डैखाल्डा हुँदा स्थानीय संगै सडकमार्ग तथा हवाइमार्ग हुदै पोखरा भित्रिने पर्यटकहरुले कठिन यात्रा गर्नूपरेको गुनासो गरेका छन् ।

सडक क्षेत्रमा खाल्डाखुल्डी हुँदा सडक दुर्घटनाको जोखिम बढेसँगै बटुवालाई समेत असर परेको स्थानियले गुनासो गरेका छन्। पोखराको लेकसाइड, पृथ्बीचोक, पार्दी बिरौटा, महेन्द्रपुल, पालिखेचोक, नदीपुर, रानीपौवा, अम्मरसिंहचोक सहितका सडक क्षेत्रमा ठाउँ ठाउँमा खाल्डाखुल्डी  हुदा स्थानियहरुले त्यसबाट गर्मीमा धुलो तथा पानी पर्दा भने हिलोको समस्याले आफुहरुलाई असर परेको गुनासो गरेका हुन्।

 

 

पोखरा महानगरपालिका र सडक डिभिजन कार्यालय पोखराले पोखरा क्षेत्र भित्रको सडक मर्मत सम्भार गर्ने जिम्मा पाएका निकायले समयमै स-साना खाल्टा खुल्टी टाल टुल पार्न नसक्दा विस्तारै खाल्डाखुल्डी बढ्दै गएर सडकमा सवारी साधन चलाउनसमेत आफुहरुलाई ठुलो समस्या पर्न थालेको एक सवारी चालक शिव देवकोटाले गुनासो गरे ।

महानगरले सामान्य भन्दा सामान्य कुरा पनि गर्न नसकेको आरोप 

पोखरा महानगरपालिकाले  बिकास निर्माणका कार्य दुर्तगतिमा गर्नुपर्नेमा भइरहेका संरचनाको समेत मर्मत सम्भार गर्न नसकेको राष्ट्रिय सम्पदा संरक्षण समिति नेपालका अध्यक्ष रामबहादुर पौडेलको भनाई छ  । भासणमा ठुला कुरा गर्ने अनि स्मार्ट सिटीको कुरा गर्ने तर ब्यबहारमा स -साना समस्याहरुलाई समयमै हल नगरेर पहाड बनाएर राख्ने काम महानगरले गरेको पौडेलको भनाई छ  । “पोखराका सडक क्षेत्रमा धेरै ठाउँमा खाल्डाखुल्डी रहेका छन्, यसलाई समयमै टाल टुल तथा मर्मत गर्न महानगरपालिकाले तदारुकता देखाउनुपर्छ, यो वा त्यो बहानामा जनतालाई दिनहुँजसो समस्यामा पार्ने काम गर्नुहुदैन । ” उनले पोखरा न्यूज सँग  भने ।

महानगर पर्यटकीय नगरी पोखराको पहिलो पहिचान दिने सडक क्षेत्रलाई बाधा अड्चन मुक्त र सरल बनाउन अल्पकालिन र दीर्घकालिन योजना बनाएर तत्काल अग्रसर हुनुपर्ने उनको भनाई छ  ।

पहिला चिसो भयो अहिले होली लाग्यो

पुष माघमा  चिसो हुने कारण सडक मर्मत सम्भारको लागि ठेक्का नदिएको र अहिले  कामदारहरु होली मनाउन घर गएकाले काम गर्न नसकेको महानगर बताउछ ।

पोखराको सडक क्षेत्रमा भएका  खाल्डाखुल्डी भए पनि हाल सडकमा काम गर्ने मजदुरहरु होली पर्वको अवसरमा पोखरा बाहिर गएकोले मर्मत सम्भारको काम प्रभावित भएको पोखरा महानगरपालिकाका शहरी विकास तथा पुर्वाधार शाखाका वरिष्ठ इन्जिनीयर शारदा मोहन काफ्लेले पोखरा न्यूज लाई बताए । उनले भने “ पोखरामा करिब २७ किलोमिटर सहित राजमार्ग क्षेत्रमा सडक डिभिजन कार्यालयले हेर्नुपर्छ बाँकी रहेको महानगरको जिम्मामा हो, तर महानगरसँग दक्ष जनशक्ति अभावमा चाहेर पनि तत्काल खाल्टा खुल्टी रिसेलिङ वा मर्मत गर्न सक्ने अबस्था छैन्, अबको कही दिनमा हामीले सडक मर्मत गर्न लाग्छौं ।”

पृथ्बीचोकदेखि सृजनाचोक, जिरोकिलोमिटर हल्लनचोक, बाराहीचोक, शहिदचोकसम्म, पृथ्बीचोक देखि नयाँबजार, महेन्द्रपुल, लामाचौर, वाटुलेचौर, महेन्द्रपुल देखि रानीपौवा, हस्पिटलचोक, अम्मरसिंहचोक सम्म र इन्द्रचोक देखि घलेचोक वन क्याम्पससम्मको भित्रि सडक सडक डिभिजनको क्षेत्र अधिकार भएको वरिष्ठ इन्जिनीयर काफ्लेले बताए । सडकमा काम गर्ने मजदुरहरु पोखरा फर्किएसँगै केहि दिनमै सडक डिभिजन मातहत भित्रको सडक भए पनि हल्लनचोक, मुस्ताङचोक लगायतको क्षेत्रमा सडक मर्मत हुने उनले बताए । मेयरमा निर्वाचित भएपछी आफ्नो पहिलो भाषणमै अव पोखरा महानगर क्षेत्रमा कसैले खाल्डाखुल्डीनै देख्न नपर्ने बताएका मेयर मानबहादुर जीसी अहिले सडक क्षेत्रमा सयौ खाडल हुँदा समेत मौन छन् ।

सडक डिभिजन कार्यालय भन्छ काम अघि बढाउदैछौ

पोखरा क्षेत्रका हाल केही ठाँउमा खाल्डाखुल्डी र मर्मत सम्भार गर्नु परेकोले पोखराको केआइसिङपुल देखि टालटुल तथा सडक मर्मतको काम सुरु गर्न लागिएको सडक डिभिजन कार्यालय पोखराका सव इन्जिनीयिर किरण सुवेदीले पोखरा न्यूजलाई बताए । उनले भने “हामीले हाम्रो क्षेत्राधिकार भित्रका पोखराको विभिन्न क्षेत्रमा सडकमा देखिएको खाल्डाखुल्डीको समस्या समाधन गर्न विभिन्न ४ वटा ठेक्का दिएर काम अघि बढाउदैछौं ।”

सडकमा पानी पर्दा सडकको कमजोर भागबाट गिटी वालुवा र पिच सडकबाट थोरै प्वाल पर्न थाले पछि सवारी साधनको चाप बढी हुदै जाँदा खाडल बढ्दै जाने र यसले गर्दा समयमै टाल टुल तथा मर्मत गर्न नसके खाल्डा बढ्दै जाँदा आगमन समस्याको साथमा आर्थिक भार समेत बढ्ने उनको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button