पोखरामा जापानी ब्रान्ड इसुजुको नयाँ गाडी

पोखरा न्यूज – १३, चैत । रेज मोटर्स प्रालिले पोखरामा नयाँ मोडलको सिंगल क्याब डी म्याक्स गाडी लञ्च गरेको छ । जापानी ब्रान्ड इसुजुको आधिकारिक बिक्रेता रहेको रेज मोटर्सले बुधबार पोखरा नयाँबजारस्थित सोरुममा एक कार्यक्रमका बीच  उक्त गाडी  लञ्च गरेको कम्पनीका प्रबन्ध निर्देशक अशोक चालिसेले जानकारी दिए  ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रदूषण कम हुने खालका गाडीको प्रयोगमा महानगरले प्रोत्साहन गरिरहेको उल्लेख गर्दै  स्मार्ट सिटीलाई सहयोग पुग्ने खालका सवारी साधन प्रयोगमा ल्याउन आग्रह गरे ।

‘पौरखीको सवारी पूरा गर्छ जिम्मेवारी’ थिम लिएर नेपालको बजारमा आएको यो गाडीमा ३ टन सम्म सामान ओसारपसार गर्न सकिने कम्पनीका प्रबन्ध निर्देशक  चालिसेले बताए । बजार मूल्य २४ लाख ९० हजार कायम गरिएको गाडीमा २५ सय सिसी क्षमताको इन्जिन रहेको र गाडी  पहाडी र कच्ची बाटोको लागि समेत निकै उपयोगी मानिएको चालिसेले जनाए । स्प्ल्यास ह्वाइट, टाइटेनियम सिल्भर, अब्सिडियन ग्रे र अर्किड ब्राउन गरी ४ कलरमा यो गाडी उपलब्ध रहेको उनले बताए  ।

लम्बाइ ८ फिट र चौडाइ साढे ५ फिट रहेको गाडीको क्याबिन आरामदायी जीपको जस्तो र पछाडिको भाग अर्थात् डेक मिनी ट्रकको जस्तो भएकाले सामान ओसारपसारका लागि  गाडी निकै उपयुक्त हुने बताइएको  छ ।  ‘कच्ची बाटोमा समेत सामानसहित गुड्न सक्ने भएकाले व्यावसायिक प्रयोजनका लागि यो गाडी निकै उपयुक्त छ ।’ निर्देशक  चालिसेले भने । बिक्रीपछिको सेवाका लागि पनि कम्पनीले विशेष व्यवस्था गरेको उनको भनाई छ  ।

रेज मोर्टसले पोखराबाटै इसुजुकै डबल क्याबिनयुक्त सुविधासम्पन्न गाडी समेत बिक्री गर्दै आएको छ । भरपर्दो इञ्जिन भए पनि अरु गाडीको तुलनामा निकै सस्तो रहेको दाबी कम्पनीको छ । सामानसहित परिवारसमेत अट्नसक्ने यो गाडीको नेपाली बजारमा मूल्य ४१ लाख रुपैयाँ छ । फोर ह्विलसमेत भएको इसुजुकै डबल क्याब जीपको भने ६५ लाख बजार मूल्य छ । कम्पनीले बिक्री गर्दै आएको ग्राउन्ड क्लियरेन्स २ सय ३५ एमएम सहित अटो गियरको सुविधा रहेको ७ सिट क्षमताको इसुजु मक्स बजारमूल्य १ करोड ३७ लाख छ ।

पोखरामा सो रुम खुलेको १५ महिनाको अवधिमाइसुजु ब्रान्डका विभिन्न मोडलका ७५ भन्दा बढी गाडी बिक्री भएको र प्रयोगकर्ताबाट पनि सकारात्मक प्रतिक्रिया आएको रेज मोटर्सका प्रवन्ध निर्देशक अशोक चालिसेले बताए । आगामी दिनमा समेत ग्राहकको चाहना अनुसारका बिक्री र सेवाको सुविधा थप गर्दै जाने कम्पनीले जनाएको छ ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारी, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन अध्यक्ष चन्द्रबहादुर कुँवर लगायतले शुभकामना व्यक्त गरेका थिए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button