पोखरामा शनिबार एउटै मञ्चमा राजु, शिव र प्रताप उत्रिने

पोखरा न्यूज – २१, चैत । लोकदोहोरीका वादशाह राजु परियार, सुगम संगीतका शान शिव परियार र उदयमान पाश्र्व गायक प्रताप दासले पोखरामा एउटै मञ्चमा उत्रिने भएका छन् ।

पोखरा सभागृहमा आगामी शनिबार हुने ‘शुभकामना सांगीतिक कार्यक्रम’ मा उनीहरु पहिलोपल्ट एउटै मञ्चमा देखिँदैछन् । उक्त अवसरको चाँजोपाँजो परिवार सेवा समाज कास्कीले मिलाएको हो । तीन चर्चित कलाकारले कार्यक्रममा आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछन् । उनीहरुसँगै झण्डै दुई दर्जन कलाकारको प्रस्तुति कार्यक्रममा रहने छ ।

जयकुमार परियार, पूर्णकला बीसी, दुर्गा परियार, सविना सुनाम, पूर्ण परियार, सरस्वती परियार, आयुष परियार, विमल परियार, इश्वर सिंहले आफ्ना सुमधर स्वरमा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने छन् । सेक्सोफोनवादक शिवराज गौतम, सीता परियार, प्रज्ज्वल भित्रिकोटी, राजेश बर्देवा, रेशम निर्दोष, रतिमाया परियार, सुनिता परियार, पुनम परियार, हेमा परियारको प्रस्तुतिमा दर्शक रमाउन पाउनेछन् । लोकदोहोरीदेखि आधुनिक र पप गीतसम्मको मज्जा दर्शकले लिनेछन् । पोखरामा यति धेरै संख्यामा कलाकार सम्भवतः पहिलोपल्ट प्रस्तुत हुँदैछन् ।

नौमति एवं पञ्चैबाजा संरक्षण गर्नेे उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजले जनाएको छ । प्रतिभाको पहिचान, सम्मान, संरक्षण एवं प्रवर्द्धन गर्दै कलाप्रेमीको रुचीलाई ध्यानमा राख्दै यो कार्यक्रम गर्न लागिएको हो । समाजका अध्यक्ष किसन परियारले लोपोन्मुख अवस्थामा रहेको राष्ट्रको पहिचान नौमति बाजाको संरक्षण संवर्धन एवं प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य भएको बताए । ‘नव प्रतिभालाई हौसला प्रदान गर्दै राष्ट्रियस्तरको कलाकारको रुपमा स्थापित गर्न सहयोग गर्नु पनि हाम्रो उद्देश्य हो,’ उनले भने, ‘प्रदेश र जिल्ला भित्र रहेका विविध सांस्कृतिक भिन्नतालाई एकरुपता दिँदै नजिक जोड्ने प्रयास हामी गर्नेछौं ।’ प्रतिष्ठाननै गठन गरेर परियार समुदायको संस्कृति संरक्षण गर्ने योजना रहेको उनले सुनाए ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको समाजका सचिव दुर्गा परियारले बताएका छन् । उनका अनुसार कार्यक्रममा गायनसँगै आकर्षक नृत्यका प्रस्तुति समेत रहने छन् । कार्यक्रम अघि अतिथी कलाकारलाई परियार समुदायको पुर्ख्यौली संस्कृति नौमति तथा पञ्चैबाजाले स्वागत गरिने छ । कार्यक्रम अवधि ४ घण्टाको रहने छ । कार्यक्रममा टिकटदर १ हजार, ५ सय र ३ सय रुपैयाँ व्यवस्था गरिएको छ । कार्यक्रममा विशेष सहयोगीको रुपमा कला संगत नेपाल केन्द्रीय समिति रहेको छ ।

परियार सेवा समाज कास्की जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर स्थापना भएको पुरानो संस्था मध्येको एक हो । २०५२ मा स्थापित भएर विभिन्न सामाजिक क्रियाकलापमा संलग्न रहँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button