पोखरामा भोलिदेखि फेवा नव बर्ष महोत्सव, होटलमा १५ प्रतिशत छुटको घोषणा

महोत्सब स्थलबाटै ३० गते नेपाल भ्रमण बर्षको शुभारम्भ गरिदै

पोखरा न्यूज – २८, चैत । पोखरामा भोलिदेखि १६ औं संस्करणको फेवा नव बर्ष महोत्सव सुरु हुदैछ । खाना, संस्कृति र संगीतलाई जोड दिएर आयोजना हुन लागेको महोत्सब ३ दिन सम्म फेवाताल किनार स्थित कोमागाने पार्कमा जारी रहनेछ ।

नेपाली नयाँ बर्ष मनाउदै पर्यटन प्रवर्धन गर्ने उधेश्यले आयोजना हुने महोत्सवमा नेपाली परम्परागत खाना, संस्कृति र संगीतलाई प्राथमिकता दिइने आयोजक पश्चिमान्चल होटल संघ पोखराले जनाएको छ । महोत्सबमा बिभिन्न सांस्कृतिक झाँकी, गण्डकी प्रदेशस्तरीय नृत्य, सांगीतिक कार्यक्रम को साथमा बिभिन्न २२ प्रकारका नेपाली नेपाली खानाहरु समेटिने संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले जानकारी दिए ।

होटलमा १५ प्रतिशत छुट

आन्तरिक र बाह्य पर्यटक गरि करिब एक लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा होटलमा १५ प्रतिशत छुट प्रदान गरिएको अध्यक्ष तुलाचनले जानकारी दिए । उनले भने- “हामीले होटलको प्रचलित मेनुमा १५ प्रतिशत छुटको व्यवस्था गरेका छौ, मूल्य वृद्धि हुदै हुदैन।

होटलको रेट बिभिन्न अनलाइन बुकिंग साइटमा पहिलेनै राखिएको हुने बताउदै कसैले पनि महोत्सबमा रेट नबढाउने र छुट लागु हुने उनले दाबी गरे । महोत्सवका अवसरमा पोखराका होटलमा यतिबेला सजिलै रुम उपलब्ध हुने बताउदै तुलाचनले नव बर्षको दिनमा भने ९० प्रतिशत सम्म कोठाहरु बुक हुने जनाए ।

महोत्सब स्थलबाटै ३० गते नेपाल भ्रमण बर्षको शुभारम्भ गरिदै

नेपाल पर्यटन बोर्डका सदस्य एवं नेपाल भ्रमण बर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिका सदस्य समेत रहेका विप्लव पौडेलले फेवा महोत्सवको अवसरमा चैत ३० गते भ्रमण बर्षको शुभारम्भ पोखराबाटै हुने बताए । महोत्सब स्थलमै छुट्टै मंच तयार पारेर भ्रमण बर्षको शुभारम्भ गर्ने तयारी भएको उनले जनाए ।

स्थानीय विभिन्न संघसंस्थासँग मिलेर कार्यक्रमलाई सफल पार्न समन्वय भइहेको बताउदै उनले छोटो समयमा शुभारम्भ हुने उक्त कार्यक्रममा सहभागिताको लागि सबैलाई निम्तो समेत दिएका छन्। पौडेलले उक्त कार्यक्रमको घोषणा पोखरामा हुँदा पोखरालाई पर्यटकीय राजधानी बनाउने अभियानमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

पोखरा लगायत नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ बर्ष झन् उल्लासका साथ मनाउनुपर्छ भन्ने हेतुले संघले महोत्सब आयोजना गर्दै आएको संघका महासचिव गणेशराज पहारीले बताए । आफ्नो मौलिक संस्कृति र परम्पराको देश बिदेशमा प्रचारप्रसार गरी यसको रक्षा गर्ने अभिप्राय महोत्सवले लिएको संघका महासचिव गणेशराज पहारीले बताए ।

महोत्सवको अवसरमा पोखरामा घुमघाम पोखरा प्याकेज, मधुमास प्याकेज लगायतका विभिन्न छुट सहितका प्याकेजका कार्यक्रम ल्याइएको पहारीले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button