आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशका खेलाडीको बिदाई

पोखरा न्यूज – ०१, बैशाख । नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेशका खेलाडीको बिदाई गरिएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले आइतबार पोखरा रंगशालमाा आयोजित एक समारोहका बीच गण्डकी प्रदेशका खेलाडीसहितको टिमलाई बिदाइ गरेकी हुन् । कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशका खेलाडीहरुलाई उच्च मनोबलका साथ विभिन्न खेलमा आफ्नो प्रदर्शन गर्न आग्रह गरिन् । आगामी हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न गण्डकी प्रदेश सक्षम रहेको समेत उनले दाबी गरिन । ओलम्पियन जित बहादुर केसी, डम्बर कुवंर, विमला रानामगर, मेनका रावत र भगवती के.सी.लाइ ओलम्पिक टर्च हस्तान्तरण गर्दै मन्त्री पुनले गण्डकी प्रदेशका खेलाडीहरुलाई अनुशासन पूर्वक खेल प्रर्दशन गर्न आग्रह गरिन् । उक्त ओलम्पिक टर्च लाइटलाई खेलाडीहरु सहित पोखराको नगर परिक्रमा समेत गरिएको छ ।

गण्डकी प्रदेशका सांसद दिपक कोइरालाले गण्डकी प्रदेशका खेलाडीहरुलाई सफलताको शुभकामना दिदै गण्डकी प्रदेशमा खेलकुदको पूर्वाधार आवश्यक भएको बताए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सन्पन्न श्रेष्ठको अध्यक्षतामा भएको बिदाइ कार्यक्रममा राखेपका सदस्य राजेश कुमार गुरुङको समेत सहभागिता रहेको थियो । गण्डकी प्रदेशबाट कुस्ती बाहेक ३४ खेलमा ५ सय ५८ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएको समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जनाए । टोलीमा पुरुष ३ सय २ जना र महिलामा २ सय ५६ जना खेलाडी रहेका छन्।

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा ट्राइएथ्लन सम्पन्न भएको छ भने प्याराग्लाईडिङ हुने भएको छ । अन्य अधिकाशं खेलहरु नेपालगन्जमा हुनेछन् । केहि खेलहरु केहि दिन अघि देखि नै संचालन भएको छ । मंगलबार पोखराबाट धेरै खेलका खेलाडीहरु सहितको टिम जाने तयारी गरेको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए । विभिन्न खेलमा गरी १ हजार ३ सय ७ वटा स्वर्ण पदकको लागि हुने प्रतिस्पर्धामा गण्डकी प्रदेशले कम्तिमा पनि २८ स्वर्ण पदक ल्याउने आशा गरेको अध्यक्ष श्रेष्ठले जनाए । श्रेष्ठको नेतृत्वमा टोली नेपालगन्ज जाने भएको हो । वैशाख ५ गते हुने उद्घाटन सत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी मन्जु गुरुङको नेतृत्वतमा मार्च पास हुने भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button