पोखरामा पनि मनाइयो तराईमा मनाइने सिरुवा पर्व

पोखरा न्यूज – ०२, बैशाख । नववर्षको आगमणसँगै पूर्वी तराईका जिल्लामा मनाइने गरिएका सिरुवा पर्व पोखरामा बस्दै आएका मिथिलावासीले पनि आज धार्मिक विधिपूर्वक हर्षोल्लासका साथ मनाएका छन् ।

यस पर्वलाई ‘जुडशीतल’ पर्वपनि भन्ने गरिन्छ । यस पर्वमा परिवारका ठूलावडाले अञ्जुलीमा जल लिएर कान्छोको टाउको राखेर आर्शीवाद दिने गर्छन् । वर्षभरि ‘तिम्रो दिमाग ठण्डा रहोस्, सोच विचार गरी काम गर्नु र कसैसँग रिस नराखी मेलमिलापका साथ बस्नु’ भनेर आर्शीवचन दिने गरिएकाले यस पर्वलाई जुडशीतल पर्व भन्ने गरिएको हो । खासगरी, तराईका ग्रामीण क्षेत्रमा अग्रजहरुले जलले भरिएका लोटा बोकेर टोल–टोलमा घुमेर आर्शीवाद दिने गर्छन । पोखरामा मैथिल समुदायको जनसङ्ख्या न्यून भए पनि उत्साहका साथ आफ्ना धार्मिक एवं सांस्कृतिक पर्व मनाउँदै आइरहेको सप्तरीका ललनकुमार झाले बताए ।

कृषिका साथै सरसफाइसँग पनि जोडिएको पर्वको रुपमा सिरुवा पर्वलाई लिने गरिन्छ । नयाँ वर्षको आगमनसँगै नयाँ बालीको रुपमा गहूँ, दलहन र तेलहन भित्रिने गरिएको खुशीमा पनि यो पर्व मनाइने गरिएको हो । वैशाख महीनामा हावाहुरी चल्ने, वर्षा कम हुने गरेकाले प्रत्येक व्यक्तिले बिहानै सडकमा पानी छर्कने र आ–आफ्ना रुख बिरुवाको जरामा अनिवार्य रुपमा पानी हाल्नुपर्ने हुन्छ । सूर्यको तापबाट तुलसीबोटलाई जोगाउनका एक महीनासम्म निरन्तर पानीको व्यवस्था गर्छन् । बोटको दुई भागमा खम्बा गाडेर त्यसमा डोरीको सहयोगमा नयाँ माटोको गाग्रो बोटमाथि झुण््याइन्छ । सो गाग्रोको मुनिको भागमा सानो प्वाल पारेर कुशको टुक्रा पसाइन्छ । गाग्रोमा पानी भरिएपछि सो कुशको माध्यमबाट थोपा–थोपा पानी बोटमाथि चुहिँने गरिन्छ ।

वैशाख महीनामा पानीको अभावमा बोट सुक्ने भएकाले यस प्रक्रियालाई पर्वको विधिसँग जोडिएको देखिन्छ । यसका साथै, इनार, नालाको सरसफाइ गर्दै एक अर्कासँग हिलो छ्याप्दै पर्व मनाउनु यसको अर्को मुख्य विशेषता हो । यो पर्व मनाउनमा खासगरी महिला तुलनात्मक रुपमा बढी खुशी हुने गरिएको देखिन्छ । यस पर्वमा कुनै विशेष पकवान पकाउनुपर्दैन र बेलुकीको खानामा पनि पकाउनु नपर्ने भएकाले राहतको अनुभूति गर्न पाउँदा उनीहरु बढी खुशी हुने गर्छन् । घरको देउतालाई नयाँ माटोको भाँडोमा पकाइएका वासीभात, आँपको चिचिलाको चटनीलगायतका परिकार चढाइन्छ । त्यसपछि विधिवत् रुपमा पर्वको शुभारम्भ हुन्छ ।

यस पर्वमा भात, दाल, तरकारी र दहीका साथै आँपको चिचिलाको चटनी अनिवार्य रुपमा खानुपर्ने हुन्छ । यस पर्वको अवसरमा चुलोे पूजा गरिन्छ । पूजा गरिएपछि अर्को दिनमात्र खाना पकाउने परम्परा छ । दिनमै पकाइएका खाना बेलुकी खाने नियम रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button