तनहुँका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण

पोखरा न्यूज – ०२, बैशाख । तनहुँको ब्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ ।

कृषिमा लागत घटाउँदै उत्पादन बढाउने उद्देश्यले नगरपालिकाले अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको हो । कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ६ वटा कृषि समूहलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । नगरपालिकाको कृषि शाखा प्रमुख विश्वराज वाग्लेका अनुसार नगरपालिका नवआदर्श मादीगङ्गा सामुदायिक समूह, सिमलटार कृषि समूह, दरै कृषि समूह, सिर्जनशील मिश्रित कृषि समूह, बर्लाची कृषि सामुदायिक समूह र सहनशील कृषि समूहलाई हाते ट्र्याक्टर वितरण गरिएको छ ।

बाइस समूहको आवेदन परेकोमा पहिलो चरणमा ६ समूहलाई ट्र्याक्टर वितरण गरिएको वाग्लेले जानकारी दिए । हाते ट्र्याक्टरले एक दिनमा पाँच/छ हलसम्मको खेत जोत्ने काम गर्दछ । गोरुले जोत्दा दिनभर लाग्ने भए पनि ट्र्याक्टरले जोत्दा एक हल खेत डेढ घण्टामा सकिन्छ । कृषिमा यान्त्रिकरण, व्यावसायिकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि किसानलाई सहयोग गरिएको उनले बताए ।

नगरपालिकाका कार्यबाहक प्रमुख मीरा जोशीले किसानलाई प्रोत्साहनस्वरुप प्रदान गरिएको ट्र्याक्टरको सही सदुपयोग हुनुपर्ने बताए । उनका अनुसार नगरपालिकाले कृषि क्षेत्रमा चालु आर्थिक वर्षका लागि रु ४९ लाख ३० हजार विनियोजन गरेको छ । नगरपालिकाले गतवर्ष तीन वटा हाते ट्र्याक्टर वितरण गरेको थियो । सहनशील कृषि समूहका अध्यक्ष कृष्णदेवी बस्नेतले गोरु महङ्गो पर्ने भएकोले हाते ट्र्याक्टर उपयुक्त विकल्प रहेको बताउनुभयो । उनले भने, “गोरुले जोतेको दिनको रु दुई हजार भन्दा बढी पर्छ । गोरु भन्दा ट्र्याक्टर सस्तो पर्ने गरेको छ ।”

सिर्जनशील मिश्रित कृषि समूहका कृषक हरिबहादुर गुरुङले स–साना गरामा समेत जोत्न मिल्ने भएकोले हाते ट्र्याक्टर उपयुक्त रहेको बताए । उनले भने, “गोरु र हली खोज्दा नपाइने र पाए पनि महङ्गो हुने भएपछि ट्र्याक्टरमा आकर्षण बढेको छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button