समाचार लेखेकै कारण पोखराबाट पत्रकार गिरी पक्राउ, पक्राउको सर्वत्र बिरोध

पोखरा न्यूज – ०२ बैशाख । पत्रकार अर्जुन गिरीलाई सोमबार प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

कास्की प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले साइबर क्राइमको मुद्दामा गिरीलाई पक्राउ गरि थप अनुसन्धानका लागि काठमाण्डौ पठाएको हो ।

गिरीले केही दिन अगाडि ‘ठग ! बदमास विपेन्द्रराज बतास’ भन्दै लेखेको समाचारलई आधारमा बनाएर बतासले सिआइबीमा गिरीविरूद्ध साइबर क्राइमको मुद्दा हालेका थिए । विपिन वताश (विपेन्द्रराज वताश) ले पोखराका दुई व्यवसायी जनकराज पहारीको २ करोड २५ लाख रुपैयाँ र मनोज श्रेष्ठको १ करोड ९८ लाख रुपैयाँ गरि ४ करोड २३ लाख रुपैयाँ ठगि गरेको गिरीले लेखेको समाचारमा उल्लेख छ। श्रेष्ठ र पहारीले बतासबाट आफ्नो पैसा उठाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएपछि गिरीले आफु आवद्ध ताण्डव पत्रिका र अनलाइन ताण्डब न्यूज डटकममा समाचार प्रकाशित गरेका थिए ।

कुनै सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचार सामग्री चित्त नबुझेमा उजुरी र कारवाही गर्नेसम्बन्धी दुवै व्यवस्था नियमनकारी निकाय “प्रेस काउन्सिल” मा भएकोमा नियोजित रुपमा पत्रकार अर्जुन गिरीलाई साइबर क्राइमको मुद्दा दायर गरि पक्राउ गरिएको भन्दै पोखराका पत्रकार सम्बद्ध संघ संस्था र पत्रकारहरुले घटनाप्रति खेद प्रकट गर्दै पक्राउ परेका पत्रकार अर्जुन गिरीको अविलम्ब रिहाइको माग गरेका छन् ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार गिरीलाई समाचार लेखेकै भरमा पक्राउ गर्नु उचित नभएको उल्लेख गरेका छन । ‘समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारवाहि गर्ने प्राबधान हुदाहुदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरि कारबाहि गर्ने प्रवृत्तिको महासंघ कास्की खेद प्रकट गर्दै पक्राउ परेका पत्रकार गिरीको अविलम्ब रिहाइको माग गर्दछ।’ महासंघद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

त्यस्तैगरि गिरीको पक्राउ प्रति खेलकुद पत्रकार संघ गण्डकी, अनलाइन पत्रकार संघ गण्डकी लगायतका अन्य पत्रकार सम्बद्ध संघसंस्था, पत्रकार र  संघ सस्थाले समेत खेद प्रकट गर्दै  अविलम्ब रिहाइको माग गरेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button