गोरखाका ११ कृषि समूहलाई ४५ लाख अनुदान

पोखरा न्यूज – ०५, बैशाख । गोरखाका ११ वटा कृषि समूहले रु ४५ लाख अनुदान पाउने भएका छन् । कृषि ज्ञान केन्द्र गोरखाले व्यावसायिक कृषि, पशुपालन तथा तरकारीखेतीका लागि प्रोत्साहन गर्ने उद्देश्यले गण्डकी प्रदेश अन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा अनुदान उपलब्ध गराउन लागेको हो ।

प्रदेश सरकारको साना नमूना फार्म सहयोग कार्यक्रमअन्तर्गत रु १० लाखभन्दा कम योजना भएका कृषि फार्मको छनोट गरी अनुदान उपलब्ध गराउन लागिएको केन्द्रका प्राविधिक सहायक नारायणप्रसाद घिमिरेले जानकारी दिए ।

“कूल १२ वटा साना कृषि फार्मबाट अनुदानका लागि निवेदन प्राप्त भएको थियो”, उनले भने , “निवदेन आएकामध्ये ११ वटा छनोटमा परेका छन् ।” छनोटमा परेका नमूना कृषि फार्मले यही वैशाख मसान्तभित्र अनुदान पाउने गरी काम अघि बढाइएको घिमिरे जानकारी दिनुभयो । उनले भने, “छनोटमा परेका कृषि फार्मले बढीमा रु १० लाख बराबरको काम सम्पन्न गरेपछि कार्यालयबाट प्राविधिक गएर अनुगमन गरी सोहीअनुसार प्रक्रिया पुर्याएर ५० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था छ ।”

नमूना कृषि फार्म अधिकांशले तरकारी खेतीलाई प्राथमिकतामा राखेका छन् भने केहीले मौरीपालन, पशुपालन, माछापालन गर्ने गरी योजना बनाएको उनले बताए । प्रदेश निर्देशनालयबाट १० लाखभन्दा कम योजनाका अनुदान मात्र केन्द्रले सञ्चालन गर्ने भनिएकाले केन्द्रले त्यसैअनुसार निवदेन आह्वान गरेको थियो । कार्यक्रम सम्पन्न गर्नका लागि कार्यालयले छनोटमा परेका नमूना फार्मलाई सम्झौता र कार्यादेश उपलब्ध गराइसकेको घिमिरेको भनाइ छ ।

उनले छनोटमा परेका फार्ममध्ये पाँच वटाले ९० प्रतिशत काम सम्पन्न गरिसकेको र बाँकी रहेका फार्मले पनि वैशाखभित्रै सक्ने गरी काम अघि बढाएको बताए । “असारसम्मको समयावधि भए पनि हामीले छिटो गर्दा प्रभावकारी हुने देखिएकाले वैशाखमै सक्नेगरी काम शुरु गरेका हौँ”, उनले भने, “हामीले अनुदानको सही उपयोग होस् भनेर प्रभावकारी अनुगमनलाई समेत प्राथमिकतामा राखेका छौँ ।”

नमूना कृषि फार्मले अनुदानको रकम भौतिक संरचना निर्माणमा खर्च गर्नुपर्ने बताए । “कृषि फार्मले अनुदान रकम पूँजीतर्फ खर्च गर्न पाउँछन्”, घिमिरेले भने, “त्यसो गर्दा उहाँहरुले कृषि पेशामा दीर्घकालीनरुपमा लाग्नसमेत मद्दत पुग्छ भन्ने हाम्रो बुझाइ छ ।” उनले थोरै पूँजी भएकाले कृषकलाई एकै किस्तामा रकम उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button