सेतीनदी किनार कमलाघाटमा व्यवस्थित शवदाहस्थल निर्माण गरिँदै

पोखरा न्यूज – ०६, बैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका र स्थानीयवासीको साझेदारीमा सेतीनदी किनारस्थित कमलाघाटमा व्यवस्थित शवदाहस्थल निर्माण कार्य शुरु भएको छ ।

सेती नदीको बहावले वर्षेनी नदी किनार कटान गर्दै लगेपछि दाहसंस्कार गर्न कठिनाई भोग्नुपरेका स्थानीयवासीले शवदाहस्थल निर्माण कार्य शुरु गरेका हुन् ।

शुक्लागण्डकी –४ का वडाअध्यक्ष शिवकुमार श्रेष्ठले नगरपालिकाको रु २५ लाख र स्थानीयको रु २७ लाख गरी कूल रु ५२ लाखको लागतमा उक्त शवदाहस्थल निर्माण कार्य अघि बढाइएको जानकारी दिए । सेती नदीमा जाने बाटो नहुँदा शव लैजान असुविधा भएको थियो । उनले भने , “निर्माणाधीन शवदाहस्थल सम्पन्न पश्चात नगरपालिका वडा नं २, ३, ४ र ५ का करीब दुई हजार घरधुरीका मानिसले लाभ लिन सक्नेछन् । नदी कटान रोक्न जाली राख्ने, शव दहनपछि खरानी पखाल्न नाला निर्माण गर्ने, शवदाहस्थलमा दाउराको व्यवस्था गर्ने र मलामी बस्ने व्यवस्था मिलाइने छ ।”

अहिले दाउराबाट शव जलाउने व्यवस्था गरिए पनि भावी योजना विद्युतीय शवदाह बनाउने रहेको छ । निर्माणाधीन शवदाहको करीब ४० प्रतिशत काम सम्पन्न भइसकेकोले अब एक डेढ महीनाभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण समितिका संयोजक पदमलाल लामिछानेले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button