सामाजिक सहयोगमा अग्रसर पोखराको चिल्ली बार १० औँ वर्षमा

पोखरा न्यूज -१८, वैशाख । पोखराको लेकसाइड स्थित चिल्ली बार एण्ड रेष्टुरेण्टले स्थापनाको दश वर्ष पुरा गरेको अवसरमा बुधबार पोखरामा सामाजिक क्षेत्रमा विभिन्न सहयोगहरु उपलब्ध गराएको छ । ‘सम्बृद्धी र सामाजिक बिकासका लागि पर्यटन’ भन्ने रहेको मुल नाराका साथ मनाइएको दिवसमा आयोजित एक समारोहका विच पर्यटन प्रहरीका लागि ४८ हजारमा चार वटा गियर साइकल, ५२ हजार बराबरको पाँच थान ह्विल चियर हस्तान्तरण गरियो ।

समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद राजिव पहारी, विशेष अतिथिहरु पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोख्रेल, वडा नम्बर ६ का वडाध्यक्ष जगत पहारी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम राना, रेवान पोखराका अध्यक्ष भिमसेन भुजेल, पश्चिमाञ्चल क्षेत्रिय होटल संघका अध्यक्ष विकल तुलाचन लगायतले संयुक्त रुपमा उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

सामग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि सांसद पहारीले वार्षिकोत्सवका रुपमा रेष्टुरेण्टले गरेको कार्य अनुकरणीय भएको उल्लेख गरे । विभिन्न तडकभडक गरि जन्मोन्त्सम मनाउने खराब संस्कृती मौलाउँदै गएको पछिल्लो समयमा चिल्ली बारले उदाहरणीय कार्य गरि देखाएको पहारीले बताए । चिल्ली बारले जस्तै अन्य व्यवसायिहरु पनि सामाजिक उत्तरदायित्वमा जिम्मेवारी बन्नुपर्नेमा उनले जोड दिए । अर्को फरक प्रसंगमा बोल्दै सांसद पहारीले फेवाताललाई आधार बनाएर व्यवसाय सञ्चालन गर्नेहरु फेवातालको संरक्षणमा चासो देखाउनुपर्ने औल्याए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोख्रेलले पर्यटकिय क्षेत्र लेकसाइडमा दिनानुदिन थपिदै गरेको व्यवसायले प्रतिस्पर्धाको अवस्था श्रृजना गरेको उल्लेख गरे । व्यवसायमा प्रतिस्पर्धा खाँचो रहेपनि त्यो स्वस्थ्य र सेवा गुणस्तरिय हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा रेष्टुरेण्टका प्रबन्ध निर्देशक विश्वराज पौडेलले रेष्टुरेण्ट दशौं वर्ष प्रवेशको अवसरमा ग्राहकहरुलाई रेस्टुरेन्टको मेनुमा बार्षिकोत्सब छुट, कम्प्लिमेन्ट्री गिफ्ट भौचर अन्तर्गत रु २ लाख २५ हजार बराबरको भौचर वितरण, उत्कृष्ट कर्मचारी सम्मान साथै रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरुको कल्याणकारी कोषमा यस बर्ष पनि संस्थाको तर्फबाट थप रु २५ हजार रुपयाँ प्रदान गरिएको जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा बात्सायन बृद्दाश्रम तथा नमस्ते सामुदायिक प्रतिस्ठानलाइ जनही रु २५ हजार सहयोग गरेको जनाउँदै शान्त पारिवारिक वातावरणमा स्वदेशी तथा बिदेशी परिकारहरुको स्वाद प्रदान गरिने उद्येश्यका साथ रेस्टुरेन्ट सञ्चालन गरिएको पौडेलले बताए ।

सोही समारोहविच सम्पन्न रक्तदान कार्यक्रममा २९ युनिट रगत संंकलन भएको छ । प्रमुख अतिथि पहारीले पहिलो रक्तदाता रेष्टुरेण्टका निर्देशक भिष्मराज पौडेललाई रक्तपोका हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुरु गरेका थिए । कार्यक्रमको सभापतित्व ग्रहण गरेका रेष्टुरेण्टका अध्यक्ष गोबिन्द शर्मा बिखर्चीले रेष्टुरेष्ट सञ्चालनसंगै विभिन्न सामाजिक कार्य गर्न पाएकोमा आत्माबाटै खुसि मिलेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button