काठेपोल पूर्णरूपमा हटाउँदै पर्बतको फलेवास

पोखरा न्यूज- १९, वैशाख । काठेपोल पूर्णरूपमा हटाउँदै फलेवास नगर पालिका विद्युत्का काठे पुराना पोल मक्किएर भाँचिने र ढल्ने भएपछि फलेवास नगरपालिकाले त्यसलाई परिवर्तन गर्ने भएको छ ।

नगरपालिकाले आन्तरिक बजेट, गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र विद्युत् प्राधिकरणसँगको सहकार्यमा एक वर्षभित्रै काठको साटो ग्याल्वनाइज पोल राख्ने योजना अघि बढाएको हो । “हामीले जनतालाई मुख्य समस्या हुने विषयलाई प्राथमिकता दिने हो”, नगरका प्रवक्ता टीकाराम गौंडेलले भने “मुख्य सडकको समस्या थियो । कुश्मा पुग्ने अधिकांश सडक कालोपत्र भइसक्यो ।

अब विद्युत् पोलको समस्या हटाएपछि अरूतिर अघि बढ्छौँ ।” नगरपालिकाका ११ वटै वडाका काठेपोल विस्थापित गरी नयाँ फलामे पोल गाड्ने अभियान सञ्चालन गरेको नगरप्रमुख पदमपाणि शर्माले बताए । चालू आर्थिक वर्षमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु ३० लाख फलामे पोल खरीदका लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

चालू वर्ष विनियोजित रकमबाट करीब १०० थान पोल ल्याउने तयारी भएको र बाँकी अपुग पोलका लागि प्राधिकरण र प्रदेश मन्त्रालयमा कुरा अघि बढाइएको उनले बताए । “सबैजसो बस्तीमा यसै वर्ष पूरै विस्थापित हुन्छन्”, उनले भने, “केही छुटेका स्थानमा अर्को वर्ष पुग्ला । आगामी वर्षदेखि नगरभित्र काठेपोल देख्नै पाइन्नँ ।” सबै वडामा गरी करीब ७०० पोल आवश्यक भएको उनले बताए ।

नगरपालिकाले यसअघिका दुई नगरसभामा विकास बजेटको अधिकांश बजेट सडकमा खर्चेकामा यस वर्ष सडकमा कटौती गरेर पोल खरीदलगायत कृषि, पशुपालनमा लगानी गरिएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाका अनुसार धेरैजसो काठेपोल भएका स्थानमा नयाँ पोल फेर्ने काम सकिइसकेको छ । कतिपय पोल नगरपालिकामा आउने क्रम जारी छ । केही सातामै नयाँ पोल वडामा वितरण हुने सापकोटाले बताए । काठेपोलका कारण विद्युत् दुर्घटनाको जोखिम सबैजसो वडामा बढेको छ । कतिपय काठेपोल भाँचिएर तारमा झुन्डिएका छन् ।

फलेवास–शङ्करपोखरीको पुर्कोट, मैदान, पोखराचौरलगायतमा पोलको समस्या बढी भएको वडाध्यक्ष अर्जुनबहादुर कार्कीले बताए । “नगरमै बढी समस्या हामीकहाँ थियो”, वडाध्यक्ष कार्कीले भने, “गत वर्षदेखि हटाउँदै लगेका छौंँ । नगरपालिकाले सहयोग गरे काम गर्न हामी पछि पर्दैनौंँ ।” काठका पोलको आयु कम्तीमा पाँच वर्षको हुने जानकार बताउँछन् । तर, फलेवासलगायत पर्वतका सबैजसो स्थानमा गाढेको दुई वर्षमै भाँचिने समस्या छ । फलेवासमा विसं २०६१ मा विद्युतीकरण गरिएको थियो ।

नगरवासीले काठेपोल कुहिएर ढल्ने समस्या बढेको गुनासो पटक–पटक गरेपछि नगरपालिकाले पोल विस्थापित गर्ने योजनालाई प्राथमिकता दिएको हो । पाङराङ, भँगरा, शङ्करपोखरी, कार्किनेटालगायतमा पोलको बढी समस्या छ । अघिल्लो वर्ष ५०० फलामका पोल गाडिएको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button