बाग्लुङका कुँवरको परिवारलाई साढे ३ लाख सहयोग

पोखरा न्यूज- २०, वैशाख । मृतक परिवारलाई सहयोग अल्पायुमै मृत्युवरण गर्न पुगेका बाग्लुङ काठेखोला गाउँपालिका–७ रेशका नारायण कुँवरको परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ ।

प्रवासमा सञ्चालित सहयोग अभियानबाट सङ्कलित रु तीन लाख ५९ हजार बिहीबार कुँवरकी पत्नी डोलिन्द्र कुँवरलाई हस्तान्तरण गरिएको हो । नेपाल रेडक्रम सोसाइटी बागलुङ शाखाका सभापति जब्बरबहादुर लामिछाने, वडाध्यक्ष प्रेम लामिछाने, नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषलगायतले संयुक्तरूपमा सहयोग हस्तान्तरण गरेका हुन् । रेश घर भई हाल हङकङमा रहेका सुवास लामिछाने र जापानमा रहेका सुरज लामिछानेको पहलमा उक्त सहयोग रकम जुटेको थियो ।

कुँवरका बालबच्चाको पढाइ र पालनपोषणमा सहयोग पुर्याउन देश विदेशमा सहयोग अभियान चलाइएको थियो । कुँवरको निधनपछि श्रीमती र बालबच्चाको बिचल्ली हुने देखेपछि सहायता जुटाउनुपरेको अभियानका स्थानीय सहजकर्ता सुमन जिसीले बताए । “सामाजिक सञ्जालबाट सहयोग अभियान थाल्यौँ”, उनले भने, “छोटो अवधिमै देशविदेशबाट राम्रो सहयोग जुट्यो ।” सात वर्षसम्म वैदेशिक रोजगारीमा रही फर्केका कुँवर पछिल्लो समय भैरहवाको एक पार्टी प्यालेसमा कार्यरत थिए ।

३१ वर्षीय कुँवरको गत माघ १२ गते राति अचानक निधन भएको थियो । परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएपछि उनी पुनः विदेश जाने तयारीमा थिए । कुँवरका नौ वर्षीय छोरा आयुष र छ महीनाकी छोरी रक्षा छिन् । घरमा वृद्ध बुबाआमा हुनुहुन्छ । घर व्यवहार धान्नेदेखि बालबच्चाको शिक्षाको जिम्मा श्रीमती डोलिन्द्रमाथि आएको छ । परिवार र छोराछोरीको भविष्यको चिन्ताले उनी ग्रसित छन् ।

समस्यामा परेको परिवारलाई राहत सहयोग गरेर युवाले प्रशंसनीय कार्य गरेको रेडक्रस बागलुङका सभापति लामिछानेले बताए । “नेपालीका दुःखसुखमा प्रवासीले साथ दिँदै आएका छन्” उनले भने । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष शिरीषले देशविदेशमा रहेका नेपालीमा परोपकारको भावना जागृत हुँदै गएको बताए । कुँवरको परिवारलाई विभिन्न सङ्घसंस्थाको तर्फबाट हालसम्म रु सात लाख सहयोग प्रदान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button