पर्वत स्थित नेपाल कै ठूलो पोखरी संरक्षण शुरु

पोखरा न्यूज – २१ वैशाख । ऐतिहासिक पहिचान बोकेको नेपालकै ठूलो मानवनिर्मित पोखरीको संरक्षण गर्न शुरु गरिएको छ । पर्बतमा रहेको ऐतिहासिक ठुलीपोखरीको संरक्षणका लागि गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत रु २५ लाख विनियोजन गरिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको पहलमा उक्त रकम विनियोजन गरिएको हो । पानीको स्रोत र व्यवस्थापनको अभावमा पोखरी चुहिएर अस्तित्व नै सङ्कटमा पर्न थालेपछि संरक्षणका लागि स्थानीयवासीले चासो देखाएका थिए । चालू आर्थिक वर्षदेखि नै उक्त पोखरीको संरक्षणको काम शुरु हुने बताइएको छ ।

साविक ठुलीपोखरी गाविसको बीच भागमा रहेको उक्त पोखरी करीब सात रोपनी क्षेत्रफलमा फैलिएको छ । एक सय वर्षभन्दा पहिले यो पोखरीको निर्माण गरिएको बताइन्छ । अहिले पोखरीबाट पानी चुहिने र वर्षायाममा समेत सुख्खा जस्तै हुने भएकाले संरक्षणको काम थालिएको ठुलीपोखरीका वडाध्यक्ष राजेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार प्रदेशबाट विनियोजन भएको रकमले यसै आर्थिक वर्षभित्र अधिकांश काम सम्पन्न गर्ने तयारी गरिएको छ ।

पोखरी संरक्षणका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालयमार्फत काम हुने भएको छ । उक्त पोखरीमा वर्षायाममा दुई महीनामात्रै पानी भरिने र बाँकी १० महीना सुख्खा हुने गरेको छ । अबदेखि पोखरीमा बाह्रैमास पानी भरिराख्ने, पोखरीको बीचमा मन्दिर निर्माण गर्ने र डुङ्गा सञ्चालन गरी पर्यटकीय हिसाबले विकास गर्ने योजना रहेको वडाध्यक्ष पौडेलले जानकारी दिए ।

पोखरीको चारै भागमा प्लाष्टर गरी पानी चुहिनबाट रोक्नुका साथै यसलाई स्थानीयवासीको आयआर्जनसँग जोड्ने लक्ष्य रहेको स्थानीय ढाकाराम सापकोटाले बताए । जिल्लाकै पहिचानसँग जोडिएको यो पोखरीको संरक्षण भएमा ऐतिहासिकता र मौलिकता कायम हुने स्थानीयवासीको अपेक्षा छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button