पर्वतमा डिमुवा–राम्जा सडकखण्ड कालोपत्र शुरु

पोखरा न्यूज – २१ वैशाख । छ महीना पहिलेदेखि अलपत्र अवस्थामा रहेको डिमुवादेखि राम्जा चित्रे जोड्ने डिमुवा–राम्जा सडक कालोपत्र गर्ने कार्य सञ्चालन भएको छ । पर्वतको दोस्रो व्यापारिक केन्द्र तिलाहार गाविसको डिमुवादेखि राम्जासम्म जोड्ने सडक कालोपत्र गर्ने काम कार्यान्वयन गर्ने निकायको टुङ्गो नहुँदा गत कात्तिकदेखि अलपत्र थियो ।

पूर्वाधार विकास कार्यालयका अनुसार डिमुवा–राम्जा सडकमा सात किलोमिटर पक्की गर्ने काम सञ्चालन भएको छ । सडक डिभिजनअन्तर्गत रहेको सडक कार्यान्वयन गर्ने निकायको टुङ्गो नहुँदा काम रोकिएको थियो । “अहिले सडक प्रदेश मातहतमा आएपछि निर्माण व्यवसायीको म्याद थपेर कालोपत्र गर्ने कार्य सञ्चालन गरिएको छ” कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर दयाराम अधिकारीले भन्नुभयो, “असोजसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माणकार्य शुरु भएको छ ।”

विसं २०७३ मङ्सिर २४ बाट निर्माणकार्य शुरु भए पनि तीन तहका निर्वाचनका कारण पनि सडक निर्माणले गति लिएको थिएन । सडक निर्माण पूरै रोकिएको अवस्थामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको विशेष पहलपछि सडक निर्माणकार्य सञ्चालन भएको बताइएको छ ।

सडक निर्माणका लागि गजुरमुखी निर्माण सेवाले काम गर्दै आएको छ । अहिलेसम्म सडक चक्लाबन्दी गर्ने, टेवा पर्खाल लगाउने काम सम्पन्न भएको र केही स्थानमा जाली भर्ने र पर्खाल लगाउने काम बाँकी रहेको निर्माण कम्पनीका साइड इन्चार्ज हरि केसीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ६५ प्रतिशत काम सकिएको छ ।

उक्त सडक कालोपत्र भएपछि जिल्लाका तिलहार, राम्जा, चित्रे तथा कुश्मा नगरपालिकाको ११ नं वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । सडक कालोपत्र भएपछि पर्यटकीयस्थल पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटक तथा घरबास सञ्चालन भएको चित्रे पुग्नलाई सहज हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button