म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलमा हरियाली पार्क

पोखरा न्यूज -२३, वैशाख । म्याग्दीको पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा हरियाली पार्क निर्माण गरिने भएको छ ।

शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५/७६ मा उपलब्ध गराएको रु ३० लाख बजेटबाट म्याग्दीका दुईवटा सामुदायिक वन क्षेत्रका खाली तथा पाखो जग्गामा हरियाली पार्क निर्माण गर्न लागिएको हो ।

हिमाली जिल्ला म्याग्दीमा हरियाली पार्क निर्माणका लागि दुईवटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी कार्यक्रम अगाडि बढाइएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । त्यसमध्ये बेनी नगरपालिका–२, ज्यामरुककोटको पिपलडाँडा सामुदायिक वन उपभोक्ता समूह र पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–२, बाबियाचौरको केसरी सम्मेनी सामुदायिक वन उपभोक्ता समूह रहेका छन् ।

लभ्लीहिल पिपलडाँडा सामुदायिक वन क्षेत्रअन्तर्गत पर्दछ । बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित मायालु डाँडा (लभ्लीहिल) मा निर्माण भइरहेको हरियाली पार्कका लागि यस वर्ष रु १२ लाख बजेट विनियोजन गरिएको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत होमबहादुर बल्छौडीले बताए  ।

बदलिँदो वातावरणसँगै शहरी कोलाहलबाट मुक्त हुनका लागि स्वच्छ हावा लिँदै हरियाली दृश्यावलोकन गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको उनको  भनाइ छ । शहर तथा बजार क्षेत्र वरिपरि रहेका खाली एवं पाखो जग्गा जमीनलाई प्रयोग गरेर हरियाली क्षेत्रका रूपमा विकास गर्न कार्यक्रम आएको सहायक वन अधिकृत बल्छौडीले जानकारी दिए ।

पर्यटकीय क्षेत्र लभ्लीहिलमा हरियाली पार्क निर्माणको काम तीव्र गतिमा अगाडि बढाइएको छ । हालसम्म लभ्लीहिल क्षेत्रमा हरियाली पार्क निर्माण गर्ने काम ५० प्रतिशत सम्पन्न भैसकेको डिभिजन वन कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

हरियाली पार्क निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम लक्ष्यसमेत रहेको जनाइएको छ । पछिल्लो समय खासगरी आन्तरिक पर्यटकको रोजाइमा परेको लभ्लीहिलको विकास र विस्तार एवं थप प्रचारप्रसारका लागि पनि कार्यक्रम सञ्चालन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button