कास्कीमा चक्लाबन्दी गरी सामूहिक खेती, २२ कृषकले मिसाए आफ्नो जमीन

कृष्ण दवाडी, पोखरा न्यूज – २५, बैशाख । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका किसानले ससाना टुक्रामा विभाजित जग्गालाई एउटै बनाएर खेतीपाती शुरु गरेका छन् ।  घाचोकस्थित सिरानखेतका २२ कृषकले आफ्नो जमीनलाई मिसाएर सामूहिक खेती गर्न शुरु गरेका हुन् । यहाँका किसानले नौ आनादेखि सात रोपनीसम्मको जग्गा एकीकरण गरेर सामूहिक खेती गरी प्रदेशमै नमूना बन्ने अठोट लिएका छन् ।

प्रदेश सरकारले जग्गा चक्लाबन्दीलाई प्रोत्साहन गर्ने र चक्लाबन्दी गरिएको जमीनमा सिँचाइ, प्रविधि तथा उन्नत बीउबीजनका लागि सहयोग गर्ने नीति लिएपछि किसान यसतर्फ थप आकर्षित भएको बताइएको छ । किसानले भूमे सिर्जनशील किसान समूह गठन गरी जग्गा मिसाएर समूहका माध्यमबाट ५१ रोपनीको जग्गामा यस वर्षको पहिलो बालीका रुपमा धान रोपेर सामूहिक खेतीको थालनी गरेका हुन् ।

स्थानीयवासी विष्णु पोखरेलको चार रोपनी, अर्जुन पोखरेलको डेढ रोपनी, कुलप्रसादको तीन रोपनी, मोतीलाल पोखरेलको तीन रोपनी चार आना, रेवतीरमणको पोखरेलको तीन रोपनी १२ आना, सरस्वती पौडेलको नौ आना, हरिदत्त पोखरेलको दुई रोपनी सात आना, राजाराम पौडेलको दुई रोपनी ११ आना, गोविन्द दवाडीको एक रोपनी १४ आना तथा हरि पोखरेलको दुई रोपनी जग्गा सामूहिक खेतीका लागि चक्लाबन्दी गरिएको छ ।

त्यस्तै प्रेमलाल पोखरेलको छ रोपनी, विश्वमोहनको एक रोपनी चार आना, बसुन्धरा पोखरेलको एक रोपनी सात आना, महेश्वर पोखरेलको एक रोपनी १० आना, थानकुमारी पोखरेलको चार रोपनी, गोविन्द पोखरेलको दुई रोपनी १० आना, पूर्णबहादुर मगरको दुई रोपनी १० आना र गोविन्द पोखरेलको सात रोपनी जमीन मिसाएर ५१ रोपनीको एकै बनाइएको किसान समूहका अध्यक्ष मोतीलाल पोखरेलले बताए । एकीकरण गरिएको ५१ रोपनी जग्गालाई पाँच भागमा विभाजन गरी बाटो तथा सिँचाइको व्यवस्था गरिएको अध्यक्ष पोखरेलले बताए ।

यसअघि ससाना जग्गामा ट्र्याक्टर लैजान पनि नमिल्ने थियो । खनजोतका लागि पनि परम्परागत गोरुमै निर्भर रहनुपर्ने बाध्यता हटेको उनको भनाइ छ । सो जमीनमा वर्षमा कम्तीमा पनि तीन खेती लगाउने सोच किसानको छ । “हामी जेठमा बर्खे धान रोप्छौँ, धान काटेपछि कात्तिक मङ्सिरमा तोरी वा गहुँ लगाउँछौँ अनि फागुनमा चैते धान रोपेर तीन खेती गर्ने योजना बनाएका छौँ”, किसान समूहका सचिव गोविन्द पोखरेलले भने । सामूहिक रुपमा खेती गर्दा उत्पादन वृद्धि हुने, मलबीउको सदुपयोग हुने, खेती गर्न लागत कम लाग्ने र किसानको आयमा वृद्धि हुने विश्वास उनीहरुको छ ।

चक्लाबन्दी गरिएको जमीनमा खेती गर्न आवश्यक सम्पूर्ण लगानी तथा व्यवस्थापनको कार्य समूहको हुनेछ भने खेतमा काम गर्न समय दिन नभ्याउनेले उत्पादन लागत बेर्होनुपर्नेछ । उत्पादित खाद्यान्नलाई जग्गाको हिस्साअनुसार सदस्यलाई वितरण गरिनेछ । चक्लाबन्दीस्थलको नापी नक्सा सङ्कलन र नयाँ नापी गरी आधार नक्सा तयार गर्ने, आधार नक्शामा योजनाको रुपरेखा तयार गरी ब्लकको डिजाइन, प्रत्येक ब्लकमा सिँचाइ, निकास बाटो र बिजुलीको व्यवस्थाका लागि पनि सरकारले सहयोग गरेपछि जग्गा चक्लाबन्दी गर्न किसान हौसिएका हुन् ।

जग्गाको एकीकरणमार्फत ठूलो भूभागमा खेती गर्न प्रदेशमा जग्गा चक्लाबन्दीको कार्यक्रम शुरु गरिएको र कृषियोग्य जमीनमा उत्पादन र उत्पादकत्व वृद्धि गरी तीन वर्षभित्रमा प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजनामा कार्यक्रमबाट सहयोग पुग्ने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले बताए । उनले भने, “छरिएर रहेका जमीनलाई एकीकृत गरी टुक्रे उत्पादनको प्रवृत्तिलाई अन्त्य गरी चक्लाबन्दीको माध्यमबाट उत्पादन वृद्धि गर्ने योजना हो, यसबाट सरकारले लिएको लक्ष्य पूरा गर्न मद्दत मिल्छ ।”

चक्लाबन्दी गरिएको जग्गामा कम्तीमा पाँच वर्ष प्लटिङ र आवास तथा उद्योगका लागि प्लानिङ गर्न नदिइने, खेतीयोग्य जमीनको अन्य प्रयोजनका लागि अतिक्रण हुन नदिई जगेर्ना गर्ने, जग्गा बाँझो राख्ने र खण्डीकरण रोक्ने तथा खेती प्रणालीलाई रुपान्तरण र विस्तार गरी रोजगारीका अवसर सिर्जना गर्ने कार्यक्रमको उद्देश्य रहेको मन्त्रालयका भूमि स्रोत नक्शाङ्कन महाशाखा प्रमुख गङ्गालाल पोखरेलले बताए।

चक्लाबन्दीमा छनोट भएका सहकारी तथा समूहलाई आवश्यक यन्त्र, उपकरण र मलबीउ खरीदका लागि मन्त्रालयले अनुदान उपलब्ध गराउने र सो प्रयोजनका लागि चालू वर्षमा रु ५० लाख बजेट विनियोजन गरिएको पोखरेलको भनाइ छ । उनका अनुसार यस वर्ष घाचोकसँगै कयरबारी पञ्चासे कृषि सहकारी संस्था र पञ्चासे पोखरा बहुउद्देश्शीय प्रालि पोखरा–२३ र वालिङ नगरपालिका–१ स्थित सागरदेवी किसान समूहले पनि चक्लाबन्दीका माध्यमबाट खेती गर्न शुरु गरेका छन् ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button