बन्न सकेन कास्की दूधमा आत्मनिर्भर, दैनिक ३० लाख गुमाउदै

पोखरा न्यूज – २५, बैशाख । कास्की दूधमा आत्मनिर्भर बन्न नसक्दा अन्यत्रबाट रु तीस लाख मूल्य बराबरको दैनिक पच्चीस हजार लिटरको हाराहारीमा दूध भित्रिने गरेको छ ।

यस जिल्लामा वार्षिक ७५ हजार १९८ मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । उपभोक्ताको मागलाई सो उत्पादनले पूर्ति नभएपछि उक्त परिमाणमा दूध भित्रिने गरेको हो । दूधको माग सबैभन्दा बढी पर्यटकीय नगरी पोखरामा छ । गण्डकी प्रदेशको राजधानी पोखराको जनघनत्वमा बृद्धि हुनुका साथै पर्यटक भित्रिने गरिएकाले पनि दूधको माग अत्यधिक हुने गरेको भेटेरिनेरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले जनाएको छ ।

जिल्लाको समग्र ग्रामीण क्षेत्रमा दूधको उत्पादन हुने गरेको भए पनि व्यावसायिक दृष्टिकोणले पोखरा महानगरपालिकाका वडा नं २९, ३० र ३३ का साथै माछापुच्छ्रे गाउँपालिकामा पनि ठूलो परिमाणमा दुध उत्पादन हुने गरेको बताइएको छ । दूधको मागलाई आपूर्ति गर्न सबैभन्दा बढी स्याङ्जाबाट भित्रिने गरेको छ । यसका साथै नवलपरासी र रुपन्देहीबाट भित्रिने गरिएको सो कार्यालयले जनाएको छ ।

दूध उत्पादक सहकारी संस्था २५ रहेको कास्कीमा ३०९ गाईका फार्म र ३८३ भैंसीका फार्म अधिकारिक रुपमा दर्ता रहेका छन् । न्यूनतम पाँचवटा गाई वा भैँंसी भएपछि फार्मको रुपमा दर्ता गर्ने गरिएको छ । कतिपय फार्ममा दुई सय भन्दा बढी गाई तथा भैँंसी रहेका सो कार्यालयका प्रमुख ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिए। कास्कीमा किसानलाई पशुपालनतर्फ आकर्षित पार्नका लागि सरकारले अनुदान पनि दिने गरेको छ ।

गाई र भैंसी पाल्ने किसानको बस्तुस्थितिको अध्ययनका साथै प्रतिस्पर्धामा अनुदान दिने गरिएको हो । किसानको क्षमताअनुसार रु दुई लाख पचास हजार, रु दुई लाख र रु एक लाख पचास हजार रकम सरकारले अनुदान दिने गरेको छ । अनुदान रकम बराबरको रकम किसानलाई दिनुपर्ने नियम रहेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।

सो कार्यालयले चालु आर्थिक वर्षमा ३९ फार्मलाई अनुदान दिने भएको छ । अनुदान दिएपछि कार्यालयले सो रकमको सदुपयोग भयो कि भएन् भन्ने विषयमा पटक/पटक अनुगमणसमेत गर्ने गरेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button