पर्वत: एक घर एक टनेल खेती

पोखरा न्यूज – २६, बैशाख । पर्वतको महाशीला गाउँपालिका–५ लुङ्खु देउरालीका कृषकलाई निःशुल्क प्लाष्टिक टनेल वितरण गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको एक घर एक टनेल खेती अबवधारणा अनुसार वडाका १७३ घरका कृषकलाई यहाँ आयोजित एक कार्यक्रममा टनेल वितरण गरिएको हो ।

तरकारीमा आत्मनिर्भर बनाउन र कृषकलाई व्यावसायिक बनाएर उत्पादन वृद्धि गरिने सोचका साथ सो टनेल वितरण गरिएको गाउँपालिका प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष जीवनविक्रम उचैले जानकारी दिए । कृषकलाई शुरुमा आफूले किनेर खान नपर्ने गरी घरमा उपभोग गर्ने तरकारी भए पनि उत्पादन गर्न आग्रह गरिएको छ भने टनेलमा तरकारी खेती गरेको तीनदेखि छ महीनापछि कृषकले व्यावसायिक रुपमा तरकारी उत्पादन गर्नुपर्ने छ ।

“पहिले हचुवाका भरमा टनेल वितरण गर्दा दुरुपयोग हुन्थ्यो, घर गोठमा बार बिछ्याइएको देखिन्थ्यो, अहिले हामीले शुरुमा टनेल घर निर्माण गर्न भनेका छौँ,” प्रवक्ता उच्चैले भने, “टनेल बनाइसकेपछि फोटो खिचेर वडामा पेस गरेपछि मात्र कृषकलाई प्रभावकारी तरिकाले टनेल वितरण गरिएको छ । बेमौसमी तरकारी खेतीबाट मनग्ये आम्दानी गर्न सकिने भएकाले कृषकलाई बढीभन्दा बढी बेमौसमी तरकारी उत्पादनमा जोड दिएका हौँ । ”

उक्त वडाका ११ वटा टोलमा एक टोल एक नर्सरी स्थापना गरी ५० प्रतिशत छुटमा कृषकलाई तरकारीका बिरुवा वितरण गर्ने कार्ययोजनासमेत सञ्चालनमा आएको छ । वडाका ६२२ घरधुरीमध्ये पहिलो चरणमा ४० घर, अहिले दोस्रो चरणमा १७३ घर र बाँकी घरलाई तेस्रो चरणमा टनेल वितरण गरिने वडाध्यक्ष उचैले बताए । स्थानीयबासीले गाउँघरमै पाइने बाँस र काठबाट टनेल बनाएका छन् । यहाँका कृषकले मौसम तथा बेमौसमी विभिन्न जातका तरकारी उत्पादन गरी तरकारी बेचेर राम्रो आम्दानी पनि गर्दै आइरहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button