बाग्लुङको धम्जामा आलु भण्डारण गृह निर्माण गरिने

पोखरा न्यूज – २६, बैशाख । काठेखोला गाउँपालिका–३ स्थित धम्जा, असौजेमा ‘आलु भण्डारण गृह’ निर्माण गर्न थालिएको छ ।

यसका लागि गाउँपालिकाले चालू आवमा रु आठ लाख बजेट छुट्टाएको थियो । उक्त बजेटबाट जगमा पर्खाल उठाउने काम भइरहेको निर्माण समितिका अध्यक्ष भविलाल विकले बताए । थप बजेट उपलब्ध भए यही वर्ष निर्माण सक्ने लक्ष्य समितिको छ । “अहिलेको बजेटले जग र भुइँतलासम्म ढलान हुन्छ”, अध्यक्ष विकले भने, “गाउँपालिका पनि स्रोत जुटाएर काम सक्ने पक्षमा छ ।”

थप बजेट उपलब्ध नभए भण्डारण गृहको काम अर्को वर्षसम्म धकेलिनेछ । एकतले उक्त गृहमा दश टनसम्म आलु भण्डारण गर्न सकिने जनाइएको छ । भण्डारण गृह बन्ने भएपछि यहाँका आलु किसान खुशी भएका छन् । घरमा राख्दा चाम्टिने, कुहिने, किरा लाग्नेजस्ता समस्या झेलेका किसानले अब सहजै आलु भण्डारण गर्न पाउनेछन् । खेतबारीबाट झिकेको आलु लामो समयसम्म ताजा र सुरक्षित राख्न भण्डारण गृह उपयोगी मानिन्छ । धम्जाको असौजे, ओखले, सायकटेरा, तारेभीर र देउराली मुख्य आलुखेती हुने क्षेत्र हुन् ।

धम्जालाई आलुको ‘पकेट गाउँ’ का रूपमा चिनिन्छ ।त्यहाँ झण्डै २०० घरले व्यावसायिक आलुखेती गर्दै आएको वडाध्यक्ष याम श्रीसले बताए । “आलु धम्जाको मुख्य नगदे बाली हो”, उनले भने, “यहाँको उत्पादन बढाउन र व्यवसायीकरणमा भण्डारण गृहले सघाउने हाम्रो विश्वास छ ।” गाउँपालिकाले पनि ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्तर्गत आलुका लागि धम्जालाई छनोट गरेको हो । धम्जाका एकै घरपरिवारले तीस मुरीसम्म आलु फलाउने गरेका छन् ।

धम्जाको आलु स्वादिलो हुने हुँदा सदरमुकामलगायत बजार क्षेत्रमा यसको माग पनि बढ्दो छ । खन्दाखन्दै किन्दा प्रतिपाथी रु १०० सम्म आलु बिक्री हुने गरेको छ । प्राङ्गारिक मल प्रयोग गरिने हुँदा धम्जाको आलु स्वास्थ्यवद्र्धक पनि मानिन्छ । किसानले ओखले क्षेत्रलाई ‘जैविक गाउँ’ घोषणा गर्ने तयारी पनि अघि बढाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button