धान छोडेर केरा खेती गर्दै म्याग्दीका किसान

पोखरा न्यूज – २९, बैशाख । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् ।

धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् ।

केही वर्षअघि सम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक खिमबहादुर कार्कीले बताए । कार्कीले खेतका गह्रामा २५० वटा केराका बिरुवा लगाएका छन् ।

त्यसैगरी अर्का कृषक भीमबहादुर कार्कीले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएका छन् । “खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा धान फल्ने खेतमा अहिले केरा लगाएको हुँ,” कार्कीले भने  ।“यहाँका सबै कृषकले केरा खेती गरेका छन्, गाउँको करीब नौ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ”, कार्कीले भने, “अबको दुई वर्षपछि वगरफाँट केराफाँटमा परिणत हुने भएको छ ।

करीब २० जना कृषकले बगैँचा नै बनाएर व्यावसायिक केरा खेती गरेका छन् । दश–पन्ध्र घारी केरा नलगाएको घर नै छैन । अम्बिका शर्मा, सरिता शर्मा, चन्द्रबहादुर घिमिरे, कृष्णप्रसाद रिजाल, भीमबहादुर कार्कीलगायतका कृषकले धान फल्ने खेतमा नै केरा खेती विस्तार गरेका छन् ।

मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी कृष्णप्रसाद रिजालले बताए । एक वर्षअघि गत वर्षको जेठमा यहाँका कृषकले करीब दुई हजार केराका बिरुवा लगाएका छन् । पकाएको प्रति १२ कोसा रु सयका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकले बताएका छन् ।

बिरुवा लगाएको डेढ वर्षमै उत्पादन लिन सकिन्छ । उत्तरतर्फ फर्किएको पाखोमा अवस्थित बगरफाँटको हावापानी केरा खेतीका लागि अनुकूल मानिन्छ । बेनी नजीकै भएकाले कृषकलाई बजारको समस्या छैन । बगरफाँटमा केरा उत्पादन हुन थालेपछि बेनीमा बाह्य जिल्लाबाट केराको आयात घट्ने फलफूल व्यापारीहरुले बताएका छन् ।

बेनी नगरपालिकाले बगरफाँट र खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडा सदस्य चन्द्रबहादुर कुँवरले बताए । केरा खेतीसम्बन्धी कार्यक्रमका लागि यस वर्ष पनि रु तीन लाख विनियोजन भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button