पोखरा देखि भारतको देहरादुनसम्म सिधा बस सेवा संचालन हुने

पोखरा न्यूज – २९, वैशाख । विगत १२ बर्ष देखि पोखरा – दिल्ली सिधा बस सेवा संचालन गर्दै आएको मोडन एरा टुर्स एण्ड ट्राभल्सले पोखरा शहरलाई भारतको अर्को शहरसँग जोड्ने भएको छ । भारतको देहरादुनमा नेपालीहरुको बसोवास भएकोले उनीहरुको सेवा सहित पोखरा क्षेत्रको पर्यटन प्रबर्धनमा  टेवा पुग्ने गरी सिधा बस सेवा संचालन गर्ने अन्तिम तयारी गरेको मोडन एरा टुर्सका अध्यक्ष केशव प्रसाद अधिकारीले बताए ।

जेठको पहिलो साताबाट हरेक साताको बुधबार पोखरा देखि देहरादुन र शनिबार देहरादुन देखि पोखराको लागि सिधा बस सेवा संचालन गर्ने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले जानकारी दिए । पोखराबाट नारायणगढ, बुटवल, महेन्द्रनगर, बनबास, रुद्रपुर, हरिद्धार, ऋषिकेश हुदै देशरादुनसम्मको यात्रा गर्दा प्रति यात्रुले भारु २ हजार ७ सय रुपैया अर्थात नेपाली ४ हजार ३ सय २० रुपैया शुल्क तिर्नुपर्ने हुन्छ ।

धार्मिक पर्यटनको माध्यमबाट हरिद्धार, ऋषिकेश र नेपालको मुक्तिनाथसम्मको धार्मिक पर्यटन प्रर्बद्धन गरी शिक्षा, स्वास्थ्य क्षेत्रमा समेत सिधा बस सेवाले धेरैलाई सहज भएको अध्यक्ष अधिकारीले बताए । पोखरा दिल्लीमा नेपाल भारत मैत्रि बस सेवा सहित आफुहरुले दैनिक बिहान र वेलुका गरी दुई क्यूमा सिधा बस सेवा संचालन गर्दै आएको उनले बताए । पर्यटनको दृष्टिले स्वास्थ्य, शिक्षा र व्यवसायीका हिसावले पनि पोखरा देखि भारतका मुख्य शहर जोड्न खोजेको अध्यक्ष अधिकारीले बताए । ३ वटा बसबाट सेवा सुरु गरेको मोडन इराले हाल २२ वटा गाडीहरुबाट सेवा दिदै आएको छ ।

उक्त टुर्सले पोखरा काठमाण्डौं, पोखरा सौराह लगायतका पर्यटकीय क्षेत्रमा पर्यटकीय स्तरका सुविधा सम्पन्न सिधा बस सेवा संचालनमा ल्याएको छ । उद्घाटनको अवशरमा भने कम्पनीले १० प्रतिशत भाडामा छुट दिने भएको छ । पोखरादेखि दिल्ली हुदै पोखरा देखि देहरादुन लगायतका भारतका शहरहरुमा सिधा बस सेवा जोड्दा भारत र नेपालको सम्वन्ध प्रगाढ हुने र दुबै देशका पर्यटक आउन जान सहज हुने भएको पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बताए ।

मोडन एरा टुर्स एण्ड ट्राभल्स पृथ्बीराज मार्ग बस संचालक समितिमा आवद्ध भएकोले समितिको बिषेश पहलमा उक्त सिधा बस सेवा आउँदो जेठ ४ गते बुद्ध जयन्तीको अवसरमा देहरादुनबाट र  ८ गते पोखराबाट उद्घाटन हुने भएको समितिका अध्यक्ष ऐन कुमार शाईले बताए । एसी सहितको सुविधा भएको ३५ सिटे एउटा बसबाट हाल सेवा संचालन गर्ने भएको उनले जनाए ।

आफुले २ बर्ष अगाडिबाट  पोखरा देहरादुन बस संचालन गर्न चाहेको भएको पनि  रुट परमिट नपाएका कारण केहि ढिला भएको अध्यक्ष शाईले जनाए । देहरादुनमा करिब २५ प्रतिशत जसो नेपालीहरु बसोबास गर्ने भएकोले उनीहरु नेपाल आउन सहज पार्नको लागि तथा नेपालबाट देहरादुन,हरिद्वार जाने नेपालीहरुलाई सहजता पुर्याउने मनसायले आफुहरुले स्तरिय सिधा बस सेवा संचालनमा ल्याउन लागेको अध्यक्ष शाईले बताए । बस सेवा संचालनले पोखराको पर्यटन प्रवर्धनमा टेवा पुग्ने बिश्वास लिएको उनले जनाए ।

समितिका महासचिव योगेन्द्र के.सी.ले समितिमा हाल १ हजार ३ सय ७८ वटा बसहरु रहेको जनाउदै समितिद्धारा संचालित अधिकांश गाडीहरु पुर्वको मेचि देखि पश्चिमको महाकाली, उत्तरको हिमाल देखि दक्षिणको तराइसम्म सेवा प्रदान गर्दै आएको बताए । पोखरा दिल्ली बस सेवालाई विस्तार गर्ने क्रममा हाल दिल्ली पोखरो चल्ने बस सेवालाई नै पोखरा देहरादुनमा पोखराबाट देहरादुत बुधबार र देहरादुनबाट पोखरा शनिबार संचालन हुने भएको महासचिव केसीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button