तनहुँमा निर्माण हुने रङ्गशालाको डिपिआर तयार

पोखरा न्यूज – २९, बैशाख । तनहुँको दमौलीमा निर्माण गर्न लागिएको बिपी रङ्गशालाको डिपिआर तयार भएको छ । व्यास नगरपालिकाले काठमाडौँस्थित भ्यानकटेश इञ्जिनीयरिङ एशोसिएटस प्रालिको सहयोगमा रङ्गशालाको डिपिआर तयार गरेको हो ।

वडा नं ३ स्थित बिपी वनवाटिकालाई रङ्गशालाका रुपमा विकास गर्न लागिएको छ । यसअघि रहेको खेल मैदानलाई पार्क बनाइएपछि बिपी वनवाटिकामा रहेको खेल मैदानमा रङ्गशाला निर्माण गर्न लागिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

रङ्गशालामा पाँच हजार क्षमताका दुई प्याराफिट निर्माण गरिने छन् । प्याराफिटमा भिआइपीका लागिसमेत छुट्टै व्यवस्था हुनेछ । प्रवक्ता श्रेष्ठका अनुसार रङ्गशालामा भलिबल कोर्ट, बाँस्केटबल कोर्ट, कराते र बक्सिङ खेल्ने ठाउँसमेत निर्माण गरिनेछ ।

रङ्गशाला निर्माणका लागि नगरपालिकाले रु ४० लाख विनियोजन गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले समेत रङ्गशालाका लागि रु पाँच लाख प्रदान गरिसकेको छ ।

रङ्गशाला निर्माणका लागि करीब रु साढे १८ करोड लाग्ने अनुमान गरिएको छ । रङ्गशाला निर्माणका लागि सङ्घीय र प्रदेश सरकारलाई समेत अनुरोध गरिने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्षसमेत रहेका श्रेष्ठले जानकारी दिए ।

बिपी वनवाटिकामा रहेको जिल्ला खेलकूद विकास समितिको कभर्डहललाई उपयुक्त स्थानमा स्थानान्तरण गरेपछि रङ्गशाला निर्माणको प्रक्रिया अगाडि बढाइनेछ । नगरपालिकाले उपयुक्त ठाउँमा कभर्डहल स्थानान्तरण गरेर निर्माण गरिदिने प्रतिबद्धता जनाइसकेको छ ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेले कभर्डहललाई अन्यत्र स्थानान्तरण गरेर रङ्गशालालाई व्यवस्थित बनाइने बताए । रङ्गशाला निर्माणका लागि नगरपालिकाले केही समयअघि मात्रै एन्फासँग सम्झौता गरेको थियो । एन्फालाई पाँच वर्षका लागि उक्त मैदानको भोगाधिकार प्रयोग गर्ने गरी जिम्मेवारी हस्तान्तरण भइसकेको छ ।

भ्यान्कटेस इञ्जिनीयरिङ एशोसिएटसका निर्देशक इञ्जिनीयर भुपेन्द्र श्रेष्ठका अनुसार मुख्य प्याराफिटमा तीन हजार र मिनी प्याराफिटमा दुई हजार गरी पाँच हजार दर्शक क्षमताको मैदान डिजाइन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button