म्याग्दीमा होमस्टे स्टे सम्बन्धि तालीम शुरु

पोखरा न्यूज – ३१, बैशाख । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा उद्यमशीलता विकास एवं होम स्टे (घरबास) सम्बन्धि तालीम शुरु भएको छ ।

मङ्गला गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको समन्वयमा शनिबारदेखि पूर्णगाउँमा १० दिने तालीम सञ्चालन गरिएको हो । आगामी जेठ ५ गतेसम्म सञ्चालन हुने तालीममा कुहुँ र पूर्णगाउँका २० जनाको सहभागिता रहेको छ । तालीमको प्रशिक्षकद्वय भुपेन्द्र कार्की र सौरव सापकोटाले सहजीकरण गर्ने आयोजकले जनाएका छन् ।

तालीम उद्घाटन गर्दै उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले होमस्टेले स्थानीयवासीलाई रोजगारी सिर्जना गर्नुका साथै आर्थिकरूपमा आत्मनिर्भर बनाउन सहयोग पुर्याउने बताए । उनले होमस्टे सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताउदै आर्थिकरूपमा आत्मनिर्भर बन्न उद्यमशीलमैत्री बन्नुपर्नेमा जोड दिए ।

गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले पर्यटकीयस्थल टोड्केमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होमस्टेमार्फत स्थानीयवासीहरुलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन तालीम आयोजना गरिएको बताइन ।

पर्यटकीयस्थलको रूपमा परिचित टोड्के र बराङ्जाको झाँक्रीपानीमा होमस्टे सञ्चालनका लागि तालीम चलाइएको बताउदै उनले गण्डकी प्रदेश सरकारले होमस्टे सञ्चालनका लागि रु २० लाख बजेट अनुदान उपलब्ध गराएको जानकारी दिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button