म्याग्दीमा ४३ क्षयरोगी फेला

पोखरा न्यूज – ०६, जेठ ।  म्याग्दीमा यो वर्ष ४३ क्षयरोगी फेला परेका छन् । क्षयरोगीको पहिचान गर्ने क्रममा चालू आर्थिक वर्षको वैशाखसम्ममा जिल्लामा ४३ क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

क्षयरोगी पहिचान तथा उपचारका विधिबारे सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा गत वर्ष ५६ जनाको उपचार गरिएको स्वास्थ्य कार्यालय प्रमुख भीमप्रसाद आचार्यले बताए । “नयाँ क्षयरोगी थपिने सम्भावना छ, अधिकांश फोक्सो र घाँटीका रोगी भेटिएका छन्”, उनले भने । प्रमुख आचार्यका अनुसार जिल्लाभित्र अझै २४ क्षयरोगी रहेको अनुमान गरिएको छ ।

नियमित औषधि खानुपर्नेमा बीचमा औषधि छोडेर पुनःबल्झिएर उपचारमा आउने गरेको बताउँदै उन ले जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने स्वास्थ्य कार्यालयका सुपरभाइजर मनिष महतोले बताए ।

उनले फोक्सो, ग्रन्थी, हड्डीका साथै पेटमा देखिए पनि फोक्सो र घाँटीको क्षयरोगीको सङ्ख्या बढ्न थालेपछि अभियानलाई तीव्रता दिनुपर्ने अवस्था आएको बताए । नियमित औषधि र पौष्टिक आहार सेवन गरेमा क्षयरोग निको हुने दाबी उनको छ ।

सामान्य क्षयरोगीले छ महीना औषधि खाए निको हुने स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लामा लुकेका क्षयरोगीको पहिचानका लागि बेनी अस्पताल, मालिका गाउँपालिकाको दरबाङ, धवलागिरि गाउँपालिकाको ताकम, अन्नपूर्ण गाउँपालिकाको शिख र भुरुङ तातोपानीमा खकार परीक्षण केन्द्र रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button