पोखराको एक वडाका प्रत्येक टोलमा सार्वजनिक शौचालय निर्माण गरिने

पोखरा न्यूज –०९, जेठ । पोखरा महानगरपालिका वडा नम्बर २१ मा एक टोल एक सार्वजनिक शौचालय निर्माणको काम अघि बढेको छ । सार्वजनिक ठाउँमा शौचालय नहुँदा नागरिकले  भोग्नु परेको समस्यालाई ध्यानमा राखेर सार्वजनिक शौचालय निर्माणलाई अगाडि बढाइएको हो ।

वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यका अनुसार यो वर्षबाट शौचालय निर्माणको काम सुरु भएको र आगामी वर्ष वडा नम्बर २१ का सबै टोलमा शौंचालय निर्माण गरिसक्ने बताए । आचार्यले शौचालय निर्माणको काम सुरु भइसकेको जानकारी दिए । उनका अनुसार वडा नम्बर २१ का ३७ टोलमा एक/एक वटा सार्वजनिक शौचालय निर्माण गरिने छ ।

टोल टोलमा सार्वजनिक शौचालय बनाउने कार्यलाई अन्य वडामा पनि विस्तार गरिने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । पोखरा मात्र नभएर कास्की नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको अवस्थामा टोल/टोललाई सफासुग्घर राख्न शौचालय निर्माण गर्न महानगरले योजना बनाएको हो । प्रमुख जिसीका अनुसार यो आर्थिक वर्षमा अन्य वडाका १० ठाउँमा सार्वजनिक शौचालय निर्माण गरिने छ । नागरिहरुको चाप बढी हुने १० स्थानमा यो वर्ष शौचालय निर्माण गर्न लागिएको हो ।

पोखरा हल्लनचोक र डेभिजफल्समा पूर्ण अपांगता मैत्रीसहितको शौचालय निर्माणको काम अघि बढेको महानगरको सहरी पूर्वाधार महाशाखाले बताएको छ । महाशाखाका अनुसार शौचालयको डिजाइन समेत तयार भएको छ । पोखरा ७ स्थित मालपोत, वडा नम्बर १ को हरिचोक, वडा नम्बर २५ को मिलनचोक, पोखरा २६ को राखीडाँडा पिकनिकस्थल, पोखरा २८ रत्नशोभा मावि प्रांगणमा शौचालय निर्माण गरिने छ ।

त्यसैगरी पोखरा १८ को भकुण्डे, पोखरा २१ दोबिल्ला पिकनिक स्थल, गौरीशंकर आधारभूत विद्यालयमा पनि सार्वजनिक शौचालय निर्माण गरिने छ । निर्माण गरिने शौचालय आधुनिक सुविधा युक्त हुने महानगरले बताएको छ । शौचालय निर्माणको लागि महानगरले १ करोड रकम विनियोजन गरेको छ । त्यसैगरी गण्डकी प्रदेश सरकारले पोखराका ४ ठाउँमा स्मार्ट शौचालय निर्माणको लागि ५० लाख सहयोग गरेको छ । स्मार्ट शौचालय हल्लनचोक, डेभिजफल्स, मालपोत र हरिचोकमा निर्माण गरिनेछ ।

नोट : तस्बिर हटाइएको

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button