बेनी–जोमसोम जोड्ने निर्माणाधीन पुल बाढीले बगायो

पोखरा न्यूज -११, जेठ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा निर्माणाधीन मोटरेबल पुल आज दिउँसो बाढीले बगाएको छ ।

निर्माणको अन्तिम चरणमा पुगेको पुल बाढीले बगाउँदा रु तीन करोड बराबरको क्षति भएको निर्माण कम्पनीले जनाएको छ । दिउँसो करीब एक घण्टा लगातार परेको वर्षापछि आएको बाढीले निर्माणाधीन पुल बगाएको प्रत्यक्षदर्शी गङ्गा पुनले जानकारी दिए ।

बाढीका कारण वरपरका बस्ती कटानको जोखिममा परेका छन् । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । ४० मिटर लामो पुल निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजना र फेवा नयाँबाटो (जेभी) जोइन्टभेञ्चरबीच विसं २०७३ असार २९ गते ठेक्का सम्झौता भएको थियो । रु पाँच करोड ७६ लाख ८० हजार ५५६ मा सम्झौता भएको पुल २०७५ असार २९ गते सम्पन्न गर्ने लक्ष्य थियो ।

एघार मिटर फराकिलो पुलको गाडी हिँड्ने भाग शुक्रबार मात्र ढलान सकिएको थियो । दुईतर्फ मानिस हिँड्ने पेटी ढलान गर्न बाँकी भएको अवस्थामा बाढीले बगाएको निर्माण कम्पनीका प्रतिनिधि रवीन्द्र कार्कीले बताए ।

डाइभर्सन भत्काएर ढालन अड्याउन ठड्याइएको सटिङ बगाएपछि पुल भत्किएको हो । पुल बगाउँदा रु तीन करोड बराबरको क्षति भएको कार्कीको भनाइ छ । पुलको पिल्लर मात्र बाँकी छ ।

आयोजनाका अनुसार यो पुल प्रिस्टिड प्रविधिको हो । हाल घट्टेखोलाबाटै सवारीसाधन आवतजावत गर्छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनका अनुसार बाढी आउँदा र बर्खाको समयमा सवारी आवतजावत बन्द हुने गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button