लमजुङका कृषक सतुवा खेतीतर्फ आकर्षित

पोखरा न्यूज – १२ जेठ । अलैँचीको हव जिल्लाको रुपमा परिचित लमजुङका कृषकको पछिल्लो समयमा बहुउपयोगी सतुवा खेतीतर्फ आकर्षण बढेको छ । बहुऔषधि गुणले युक्त भएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सतुवाको माग उच्च रहेकाले जिल्लाका कृषकको आकर्षण देखिएको हो ।

लमजुङमा झण्डै ५०० कृषकले व्यावसायिक रूपमा सतुवा खेती गर्न थालेका छन् । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङले विसं २०७४ बाट सतुवा खेती गरेका छन् । उनले दोलखाबाट प्रतिबिरुवा रु ८० का दरले खरीद गरी पाँच सय बिरुवा करीब एक रोपनी जग्गाबाट शुरु गरी अहिले पाँच रोपनीमा १२ हजार बिरुवा लगाएका छन् । शुरुमा जग्गा छनोट र ग्रिनहाउस निर्माणलगायतमा रु एक लाख लगानीबाट अघि बढेको तामाङले रु सात लाख बढी सतुवा खेतीमा लगानी गरिसकेको बताउछन् ।

विगत लामो समयदेखि अलैँची व्यवसाय गर्दै आएका तामाङले अलैँची व्यवसायभन्दा पनि बढी राम्रो सतुवा खेती हुने भएकाले यसतर्फ आकर्षण बढेको बताउछन् । उनले भने, यस खेती कम लागत, समय र श्रमले अलैँची खेतीभन्दा बढी आम्दानी गर्न सकिने साथै बहुउपयोगी जडीबुटी भएकाले यसको संरक्षणका लागि समेत सतुवा खेती गरेको हुँ । यसले पेट दुखेको, घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विषसेवन गरेको बेलामा प्रयोग गर्न सकिने बहुउपयोगी जडीबुटी रहेको कृषक तामाङको भनाइ छ । आगामी बर्षबाट सतुवा उत्पादन हुने उत्पादित सतुवा बिक्रीबाट रु १५ लाख आम्दानी हुने अपेक्षा कृषक तामाङले गरे ।

मस्र्याङ्दी गाउँपालिका–८ का भुस्मे होमराज तामाङले पनि दोलखाबाट प्रतिबिरुवा रु ८० मा ८०० बिरुवा खरीद गरी सतुवा खेती शुरु गरे । रु एक लाख लगानीबाट शुरु गरेको अहिले रु पाँच लाख सतुवा खेतीका लागि लगानी भइसकेको उनले बताए । उहाँहरुबाहेक वैशबहादुर गुरुङ, सोमराज तामाङ, गमबहादुर तामाङलगायतले पनि सतुवा खेती विस्तार गरेको र राम्रो हुने अपेक्षा रहेको बताएका छन् । केही कृषकले सतुवा खेती गर्नुअघि दोलखा, इलाम पुगेर सतुवा खेतीसम्बन्धी आवश्यक तालीम लिइसकेको कृषक तामाङले बताए । उनले भने, “सतुवा खेती विस्तार गर्नका लागि अभियान सञ्चालन गर्न लागेका छौं । सतुवाखेतीमा लागेसँगै मस्र्याङ्दी गाउँपालिकाका १० भन्दा बढी कृषकले लालीगुराँस बहुउद्देश्यीय कृषि तथा जडीबुटी सहकारी संस्था दर्ता गरी करीब दुई महीनाअघिबाट व्यावसायिक रुपमा सतुवा खेती शुरु गरेका छन् । समुद्री सतहदेखि एक हजार ४०० मिटर उचाइमाथि सतुवा खेती हुने कृषकको भनाइ छ । सतुवा बिरुवा लगाएको तीन वर्षपछि उत्पादन थाल्ने र प्रतिकिलो सतुवा रु छ हजारदेखि १२ हजारसम्म पर्ने कृषक सुमन गुरुङले बताए ।

जिल्लाका क्वहोलासोँथार गाउँपालिकाका, दूधपोखरी गाउँपालिका, बेँसीशहर नगरपालिका–१० खाँचे, मस्र्याङदी गाउँपालिकाको घेर्मु, रिङ्टाङ, छिनखोला, ताघ्रिङ, लुदीलगायत ठाउँमा कृषकले व्यावसायिक सतुवा खेती गर्न थालेका छन् । अधिकांश कृषकले अलैँची व्यवसायसँगै सतुवा खेती शुरु गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button