बग्गी व्यवसायसँगै व्यावसायिक बाख्रापालन

दीननाथ बराल, पोखरा न्यूज – १२, जेठ । काठमाण्डौं, पोखरा र चितवनमा बग्गी व्यवसाय संचालन गर्दै आएका एक उद्यमी शान्ता शर्माले बाख्रापालन सुरु गरेका छन् । बग्गीको साथमा विगत ८ महिना देखि उनले चितवन भरतपुरको २७ स्थित बुद्धनगरमा बाख्रा पालन गर्न सुरु गरेका हुन्।

पावर अफ हिमालय नामक संस्थाबाट उनले ५० वटा बाख्रा पालन सुरु गरेसंगै हाल उनको खोरमा ६२ वटा बाख्रा रहेका छन्। जमुना पारी (लामो कान भएको) बोका देखि स्थानिय जातका बाख्रा उनको खोरमा रहेकाछन्।  बाख्रापालनसंगै उनले अर्गानिक फलफुल तरकारी खेति उत्पादन गर्ने, कुखुरा र माछा पालन गर्ने योजना बनाएका छन्। पर्यटकीय दृष्टिले समेत निकै शान्त मनमोहक वातावरण चितवन राष्ट्रिय निकुन्ज नजिकै रहेकोले गर्दा पनि उक्त क्षेत्रमा घरवास कार्यक्रम (होम स्टे) समेत संचालनको गृहकार्य भएको शर्मा बताउछन् ।

नेपाल बिज्नेस एण्ड इमिगे्रेसन फ्यासिलिटेड प्रालिकोको नामबाट विगत १९ बर्ष देखि विदेशी लगानीको लागि परामर्श दिदै आएका शर्माले बग्गी एण्ड हर्स राईडिङ प्रालिबाट पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले काठमाण्डौं पछि पोखरा, र चितवनमा बग्गी व्यवसाय सुरु गरेका हुन्। नेपालमा पर्यटन र कृषिमा अथाह सम्भावना देखेर आफुले बग्गीको साथमा बाख्रा पालन सहितको फलफुल तरकारी सहितको   होम स्टे अवधारणा अघि सारेको शर्मा बताउछन्। उनले हाल थारु हाँस समेत पाल्न सुरु गरेका छन् ।

नेपालमा भएको स्रोतसाधनलाई उचित ढंगले प्रयोग गरी विदेशी प्रविधि भित्राउनु पर्ने उनले बताए । उनले भने “ विश्वका शक्तिशाली देश चिन र भारतको बिचमा रहेको नेपालमा धेरै सम्भावना रहेको छ, नेपालमा उत्पादन भएको बस्तु तथा सेवा सहज ढंगले विदेश निर्यात गर्न सकिन्छ, हामी विदेशी जानु भन्दा आफ्नै देशमा केही गर्नु पर्छ । ” बग्गी व्यवसाय प्रायः गरी मौसमी र कहीले काही हुने हुदा घोडा पालन गर्दा त्यसको साथ साथै बाख्रा पालन गर्न सहज हुने भएकोले बाख्रा पालनमा लगानी गरेको शर्माले बताए । घोडा र बाख्रा पालन पछि उत्पादन भएको मललाइ आफ्नै करेसावारीमा प्रयोग गर्ने गरी फलफुल तरकारी लगाउने उनले योजना बुनेका छन् ।

उनले भने “ हाम्रा खेतवारी प्राय धेरै रसायनिक मल प्रयोग गरेर बिग्रिदै छन तर हामीले अब विस्तारै रसायनिक मलको प्रयोग घटाउदै ७५, ५०, २५ हुदै शुन्य प्रतिशतमा झारी ४ बर्षमा अर्गानिक फल उत्पादन गर्न सक्छौं त्यस तर्फ हामी लाग्नु पर्छ । ” रसायनिक मल प्रयोग गरेर उत्पादन भएका फलफुल तरकारीको मुल्य पनि कम र लामो समय राख्न तथा लैजान समस्या रहेको उनले जनाए ।

भूटानमा अर्गानिक रुपमा धेरै फलफुल तरकारी एवं अन्नवाली उत्पादन भएकोमा नेपाल पनि त्यस्तै देश बनाउन सकिने शर्माको भनाइ छ ।  बाख्रालाई दैनिक रुपमा बेसार खुवाउदा रोगसंग लड्न सक्ने शक्त्ति प्रदान हुने हुदा उनले बाख्रालाई अन्य घाँस पातको साथमा बेसार समेत खुवाउने गरेका छन्। उनको अभियानलाई कहीले काहि विदेशीहरुले समेत सहयोग गर्दै आएका छन्। उनले हाल चितवनमा २ घोडी, ३ घोडा पालन गर्दै आएका छन ।

शर्माले काठमाण्डौं, पोखरा र चितवनमा बग्गी आवश्यक पर्दा चितवन बाटै घोडा लगेर बग्गीको सेवा दिदै आएका छन्। करिब तीन बर्ष अघि काठमाण्डौंबाट बग्गी व्यवसायी सुरु गरेका शर्माले पोखरामा करिब दुई बर्ष अघि उक्त व्यवसाय संचालनमा ल्याउका हुन् । नेपाली परम्परा अनुसार राज खान्दानले प्रयोग गर्ने गरेको बग्गीलाई शर्माले मनोरन्जलको लागि व्यवसायीक रुपमा प्रयोगमा ल्याएका हुन्। उनले एक बर्ष देखि चितवनमा घोडाको साथमा बाख्रा पालन गर्न सुरु गरेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button