फेवातालमा फेरी डुंगा डुब्यो, रेस्क्यु टिमद्धारा ७ जनाको उद्धार

दीननाथ बराल, पोखरा न्यूज – १३, जेठ । फेवातालमा  हावा हुरीसंगै  छाल आएपछि पुनः आज (सोमबार) डुंगा दुर्घटना भएको छ । सोमबार  दिउँसो फेवातालको बिच भागमा डुंगा डुबेर तालमै अत्तालिएका ५  जनाको एपिएफ फेवा लेक रेस्क्यु टावरको टोलीले तत्काल उद्धार गरेको छ । रेस्क्यु टावरको टोलीले कायकिङ गर्दै गर्दा तालमै अत्तालिएका २ जनाको समेत सकुसल उद्धार गरेको छ  ।

सोमबार दिउँसो करिब ३ः४० बजे हावा हुरीसंगै आएको पानीको छालमा परी डुंगा डुबेपछि काठमाण्डौंबाट पोखरा घुम्न आएका ५ जनाको  समयमै उद्धार हुँदा  उनीहरुको ज्यान बच्न सफल भएको हो । काठमाण्डौंका २७ बर्षीय विनोद अर्याल, २० बर्षकी सविना मर्हजन, २२ बर्षकी मिनी मर्हजन, २१ बर्षका अजित मर्हजन र २० बर्षकी जरिमा महर्जनको समुहलाई शसस्त्र प्रहरी सहायक निरिक्षक दीपेन्द्र विष्टको टोलीले समयमै सकुसल उद्धार गरेको हो ।

उनीहरु सवार भएको डुंगा पानीको छालले गर्दा डुबेपछि उनीहरु कराउदै एक आपसमा अंगालो हालेर बसेका थिए । केहीले अत्तालिदा पानी समेत खान पुगेका थिए । उक्त डुंगामा सवार सवैले लाइफ ज्याकेट राम्रोसंग लगाएका कारण पानीको छालमा पनि तालमै तरिएको अबस्थामा रेस्क्यु टिमले उद्धार गर्न सफल भएको हो ।  आफै डुंगा लियर तालमा घुम्न निस्केका उनीहरु तालको करिब बिच भागमा रहेका थिए ।

त्यसै गरी तालबाराही मन्दिरको पछाडि पट्टि तालको भागमा कायकिङ गर्दै गरेका पोखरा नदीपुरका २२ बर्षीय शाइरस गुरुङ र छोरेपाटनका २५ बर्षीय रोनाल मगरलाई पानीको छालमा परी अत्तालिएको अबस्थामा रेस्क्यु टिमले उद्धार गरेको थियो ।

फेवातालमा जथभावी रुपमा पाइपहरु राखेका कारण फेवातालमा उद्धार गर्न कठिनाइ परेको सहायक निरिक्षक  विष्टले गुनासो गरे । उनले भने “ फेवातालमा विभन्नि कारणले डुवेका तथा अलपत्र परेकाहरुको हामीले उद्धार गर्नको लागि तयारी अबस्थामा रहेका हुन्छौं, यद्यपी हामी संग साइरन नभएकोले गर्दा कहिले काहिँ ढिलो गरी सुचना प्राप्त हुने गरेको छ, अर्को कुरा भनेको तालमा जथभावी रुपमा रहेका पाइपले गर्दा हामीले मोटरवोर्टबाट उद्धार गर्न कठिन हुने गरेको छ । ”

फेवातालमा आएको ठुलो छालको क्रममा  डुंगामा सयर गर्ने  सवैले लाइफ ज्याकेट लगाउदा मानविय क्षति हुनबाट बचेको फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धि बहादुर नेपालीले जनाए । फेवातालमा डुंगा सयर गर्दा अनिवार्य रुपमा लाइफ ज्याकेट लगाउनु पर्ने व्यबस्था गरेको उनले बताए ।

यसअघी केहि साता अघि हावा हुरीसंगै आएको ठुलो छालमा अत्तालिएका एक विदेशी सहित ७ जनालाई रेस्क्यू टिमले सकुसल उद्धार गरिएको थियो ।

यो पनि पढ्नुहोस् :-

फेवातालमा अहिले सम्मकै ठुलो छाल ! ७ जनाको उद्धार, ४० बढी डुंगा डुबे

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button