फेवातालको किनारबाट ३० मिटर भित्रका संरचना तत्काल भत्काउने तयारीमा महानगर

दीननाथ बराल, पोखरा न्यूज – १४ जेठ । पोखरा महानगरपालिकाले पहिलो चरणमा फेवाताल किनारबाट करिब ३० मिटर क्षेत्र भित्र पर्ने मापदण्ड विपरितका भौतिक संरचना हटाउने भएको छ ।

पोखरा महानगरपालिकाले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानगरका मेयर मानबहादुर जिसीले सर्वोच्चको फैसला कार्यन्वयन गर्न पनि आफुहरुले पहिलो चरणमा फेवातालको किनाराबाट ५ देखि ३० मिटर भित्रका मापदण्ड विपरित निर्माण भएका भौतिक संरचना हटाई छाड्ने दाबी गरेका हुन् ।  फेवाताल किनारबाट ६५ मिटर भित्रका भौतिक संरचना हटाउने अभियान अन्तर्गत हालसम्म प्रदेश र संघ सरकारले सिमाङकन गर्न नसके पनि आफुहरुले पहिलो चरण मै ३० मिटर भित्र पर्ने गरी भौतिक संरचना हटाउने अभियानमा काम सुरु गर्ने उनले बताएका हुन्।

बंगलादी, गैराको चौतारो, हल्लन चोक, क्याम्पिङ चोक, गौरीघाँट लगायतको क्षेत्रमा फेवाताल किनारादेखि करिब ३० मिटर भित्र पर्ने अर्थात सडक भन्दा तल्लो भेगमा पर्ने अधिकाशं होटल, रेष्टुरेण्ट, घर तथा अस्थायी टहराहरु तत्काल हटाउन महानगरले १५ दिने सुचना समेत प्रकाशन गरेकोले अबको एक साता भित्र नहटेमा महानगरले हटाइ छाड्ने मेयर जिसीले बताएका छन्। उनले भने “प्राकृतिक श्रोत साधनको संरक्षण गर्नु हामी स्थानिय निकायको जिम्मेवारी हो तर हाम्रो सार्वजनिक सम्पत्ति संरक्षण गर्न पनि सर्वोच्चले आदेश दिनु पर्ने हामी कस्तो अबस्थाबाट अघि बढेका छौं, मापदण्ड विपरितका संरचनाहरु हटाउन अब हामी कुनै विलम्व गर्दैनौं । ”

सर्वोच्चको फैसला कार्यन्वयन गर्न महानगरले एक हप्ता अघि फेवातालको मापदण्ड विपरित निर्माण भएका भौतिक संरचना हटाउने गरी १५ दिने सुचना समेत प्रकाशित गरेको छ । संघ र प्रदेश सरकारलाई पनि समयमै फेवातालको सिमाङकन निर्धारण गर्न दबाद दिन पनि स्थानिय सरकारले पहिलो चरणमा मापदण्ड विपरितका भौतिक संरचना हटाउने भएको मेयर जिसीले जनाए । फेवातालको हाल करिब ९ हजार ९ सय ५५ रोपनी पानीले ढाकिएको महानगरले जनाएको छ ।

समय मै फेवाताल संरक्षण गर्न नसक्दा हाल मापदण्ड विपरित र फेवाताल किनारामा धमाधम विभिन्न संरचना निमार्ण हुने क्रम रोकिएको छैन् । फेवातालमा मिसिने हर्पन खोलासहित पाँच वटा खोलामा सिल्ट्रेसन ड्याम निर्माण गर्न गण्डकी प्रदेश सरकारसँग मिलेर ३४ करोडको योजना अगाडि बढाइएको मेयर जिसीले जनाए । सर्वोच्च अदातलको फैसला अनुसार महानगरको जिम्मेवारीमा परेको फेवाताल जलाधार क्षेत्रको संरक्षणको काम सुरु गरिएको उनले जनाए । महानगरले गण्डकी प्रदेश सरकारको समन्वयमा बंगलादी क्षेत्रमा फेवातालको माटो निकालेर तालको आकार बृद्धि हुने काम गरेको छ ।

दोश्रो चरणमा खपौंदी क्षेत्रमा माटो निकालेर जथभावी रुपमा तालको माथिल्लो भाग ३/४ किलोमिटर टाडा सिंसार क्षेत्रमा माटो पुर्ने काम भएको थियो । चौतर्फी दबाद आए पछि हाल माटो निकाल्ने काम रोकिएको छ । केही व्यक्तिहरुले रातरात सिंसार क्षेत्रमा अन्य डाडा कटान गरी ९० प्रतिशत माटो सिंसार क्षेमा पुरेर आँखामा छारो हाँल्दै फेवातालको माटो करिब १० प्रतिशत हाल्दै आएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button