भान्सामा तरकारी सँगै विषादी पाक्छ !

पोखरा न्यूज – १६, जेठ । छोटो समयमा बढी उत्पादन गरी मनग्य आम्दानी गर्ने लोभमा किसानहरुले तरकारीमा जथाभावी विषादीको प्रयोग गर्दा यसको दुष्प्रभाव उपभोक्ताहरुमा देखिन थालेको छ ।

किसानले कृषि प्रविधिज्ञको सल्लाह नलिई आफूखुशी विषादीको प्रयोग गर्दा उपभोक्ताको भान्सामा तरकारीसँगै विषादी पनि पाकिरहेको छ । म्याग्दी जिल्लाका ग्रामीण भेगका साथै छिमेकी जिल्ला पर्वत र तराईका विभिन्न क्षेत्रहरुबाट सदरमुकाम बेनीमा भित्रिने तरकारी र फलफूलको परीक्षण हुन नसक्दा विषादीसमेत मानिसको पेटमा पुगिरहेको सरोकारवालाहरुले बताएका छन् ।

सरकारका नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा नेपालीहरुको भान्सामा विषादी र तरकारी एकैचोटि पाकिरहेको कृषि वैज्ञानिकहरु बताउँछन् । गाउँ र तराईबाट बजारमा आउने तरकारीको परीक्षण गरिँदैन । उपभोक्ताको स्वास्थ्यमा यस्ता तरकारीले कस्तो असर गरेको छ, कसैको ध्यान पुगेको छैन । यस्ता तरकारी खुलेआम बेच्न दिँदा जनस्वास्थ्यप्रति खेलबाड भइरहेको उपभोक्ताको गुनासो छ ।

तरकारीमा नदेखिने विषको प्रयोग हुने कृषि विशेषज्ञहरुले बताएका छन् । विषादीको दुई किसिमबाट प्रयोग गरिने उनीहरुको भनाइ छ । पहिलो चरणमा बिरुवा रोप्दै गर्दा विषादी हालिन्छ । फल फलिसकेपछि तरकारी छिटो बजारमा पुर्याउन पनि कृषकले विषादी हाल्ने गरेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताए ।

कृषि वैज्ञानिक कार्कीका अनुसार नेपालमा सन् १९५० देखि डिडिटी र पाइरेथ्रम नामका दुई विषादी औलो रोगको रोकथामका लागि लामखुट्टे मार्न भनेर नेपालमा ल्याउन शुरु गरिएको हो । सरकारी तवरबाट भने सन् १९५६ बाट आयात गर्न शुरु गरिएको अभिलेख छ । विस्तारै यसको खपत बढ्दै गएपछि कृषि क्षेत्रमा पनि यसको प्रयोगमा व्यापकता आउँदै गएको हो । कार्कीका अनुसार हाल नेपालमा वार्षिक रु ७४ करोड ७८ लाख मूल्यका ६ लाख ३५ हजार किलोग्राम विषादी खपत हुने गरेको छ ।

नेपालमा पङ्जिकृत विषादीको सङ्ख्या (व्यापारिक नाम) २ हजार ५७६ रहेको छ भने १३९ सामान्य पङ्जिकृत विषादी रहेका छन् । सरकारी तथ्याङ्क अनुसार विषादीका १२ हजार ८८७ खुद्रा विक्रेता र ११ हजार ९०८ तालीम प्राप्त बिक्रेता रहेका छन् । सरकारी तथ्याङ्क अनुसार अनुमतिपत्र लिएका संष्लेषणकर्ताको सङ्ख्या भने जम्मा ५ रहेको छ ।

कृषि वैज्ञानिक कार्कीका अनुसार विषादी प्रयोग गरिएका तरकारी, फलफूल तथा खाद्यान्नले दीर्घकालीन असर निम्त्याइरहेका छन् । क्यान्सर, वंशाणुगत परिवर्तन, विकृत बच्चाको जन्म, कलेजो तथा मिर्गौला बिग्रनु, प्रजननमा विकृति, स्नायुसम्बन्धी रोग, एजर्ली, दम, अन्धोपन लगायतका समस्याहरु बढ्दै जानाको पछाडि विषादी प्रयोग गरिएको तरकारी र फलफूलको सेवन नै प्रमुख रहेको छ ।

नेपालमा वर्षेनी रु ३६ करोड ६० मूल्य बराबरको १ लाख ६९ हजार किलोग्राम कीटनाशक विषादी, रु २५ करोड ७० लाख मूल्य बराबरका ३ लाख ४८ हजार किलोग्राम रोगनाशक विषादी, रु ९ करोड ८४ लाख मूल्य बराबरका १ लाख ६ हजार किलोग्राम झारपात नाशक विषादी र रु २ करोड ३६ लाख मूल्य बराबरका १३ हजार २०९ किलोग्राम अन्य विषादी गरी कुल रु ७४ करोड ७८ लाख मूल्य बराबरका ६ लाख ३५ हजार किलोग्राम विषादी खपत हुने गरेको नार्कका अन्तर्राष्ट्रिय कृषि वैज्ञानिक कार्कीले जानकारी दिए ।

यसैगरी, बेनी नगरपालिकाका कृषि संयोजक कृष्ण बानियाँले ज्ञानको अभावमा किसानहरुले कडा भन्दा कडा विषादी तरकारीमा हाल्ने गरेका बताए । बानियाँले भने – “यस्तो विषादी हालिएको तरकारी हामी सबैको भान्सामा दिनहूँ पाकिरहेको छ र हामी तरकारीसँगै विष पनि खाइरहेका छौं ।” विषादीरहित अग्र्यानिक तरकारी खेतीका लागि कृषकहरुलाई जागरुक बनाउनुपर्ने आवश्यकता रहेको किसानी कृषि प्राविधिक शिक्षालयका संयोजक करन कँडेलले बताए । “किसानहरुलाई विषादीरहित तरकारी खेतीका लागि प्रोत्साहन गर्न सरकारले अग्र्यानिक उत्पादनका लागि अनुदान र उपभोक्ताले पनि उचित मूल्य दिन आवश्यक छ,” संयोजक कँडंलले भने “कृषि विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई हामीले विषादीरहित तरकारी उत्पादनका लागि आधुनिक तरीका र प्रविधिका बारेमा सिकाइरहेका छौं ।”
विषादीयुक्त तरकारी खाँदा मानिसलाई विभिन्न किसिमका रोग लाग्ने चिकित्सकहरुले बताएका छन् ।

मानिसको वंशाणुगत क्षमतामै असर, गर्भवतीले बढी खाएमा बच्चा अस्वस्थ जन्मिने, लुलो लङ्गडो हुने र क्यान्सरले समेत सताउने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीम आचार्यले बताए । चिकित्सक आचार्यका अनुसार तरकारीलाई तीन/चार पटक राम्ररी पखालेर पकाउनुपर्छ । “पर्याप्त जानकारी हुँदाहुँनि बाध्यतावश उपभोक्ताले सेवन गरिरहेका छन्,” उनले भने । सरकारको विषादी प्रयोग गर्नेलाई कडा कार्वाहीको कानूनी व्यवस्था नगर्दासम्म यस्तो समस्या रहिरहने उपभोक्ताहरुले बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button