मनकामना मन्दिरमा भारतीय भक्तजनको भीड

पोखरा न्यूज – १७, जेठ ।  गोर्खाको मनकामना मन्दिरमा यतिबेला दर्शन गर्नेहरु आधाभन्दा बढी भारतीय भक्तजन हुन थालेका छन् । भारतमा चर्को गर्मी छल्न घुम्न आउने पर्यटकहरु बढेसँगै मनकामना मन्दिर भारतीय पर्यटकले भरिएको हो ।

मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक गिरिधारी सापकोटाका अनुसार यो महीना शुरु भए यता मनकामना आउनेमा आधाभन्दा बढी भारतीय भक्तजन आउन थालेका हुन । मन्दिरमा दर्शन गर्न दैनिक ६/७ हजार हाराहारी भक्तजन आउने गरेको सापकोटाले बताए । उनले भने “हिजो दिनभर मन्दिर परिसरमा नेपालीभन्दा भारतीय अनुहार बढी देखिन्थे ।” बुधबार साँझ ७ बजेसम्म भक्तजनले लाममा बसेर दर्शन गरेको सापकोटाको भनाइ थियो । गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका धार्मिक पर्यटकीय क्षेत्र अवलोकन गरेसँगै भारतीय पर्यटक बढेको सापकोटाको विश्लेषण छ ।

मन्दिरका मूल पुजारी इन्सानबहादुर थापामगर यतिबेला भारतीय भक्तजन निकै बढेको बताछन् । मन्दिरमा आउने आधाभन्दा बढीले बाहिरैबाट पूजा गर्ने बताउँदै उहाँले भारतीय भक्तजनले लामो समय पालो कुरेर पूजाआजा गर्ने गरेको जानकारी दिए  । मनकामना माताको शक्ति र महत्व भारतीय क्षेत्रमा प्रचार हुँदै गएपछि नेपाल आउने पर्यटकले मनकामना मन्दिर नछुटाउने इच्छा व्यक्त गर्ने गरेको बताइएको छ ।

मनकामना मन्दिर दर्शन गर्न धेरै केबुलकार चढेर जाने गर्छन् । केही सडकको बाटो हुँदै पनि जाने गर्दछन् । चितवनको कुरिनटारबाट गोर्खाको शहीद लखन गाउँपालिकामा रहेको मनकामना मन्दिरसम्म केबुलकार सञ्चालनमा रहेको छ । मनकामना दर्शन प्रालिले केबुलकार सञ्चालन गरेको हो । प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थका अनुसार बुधबार तीन हजार ८०० भक्तजनले केबुलकारको यात्रा गरेकामा दुई हजार भारतीय रहेका थिए ।

गर्मी महीनामा भारतीय आउने क्रम बढ्दो रहेको उनले बताए  । गत आर्थिक वर्षमा एक लाख ८१ हजार भारतीय तीर्थयात्री केबुलकार चढेर मन्दिर पुगेका थिए । अघिल्लो वर्ष सो सङ्ख्या एक लाख १४ हजार रहेको थियो । कायस्थले यस वर्ष भारतीय भक्तजनको सङ्ख्या दुई लाख पुग्ने बताए । चालू आवको हालसम्म एक लाख ६५ हजार भारतीय भक्तजनले केबुलकार चढेर मनकामना पुगि सकेका छन् ।

यस वर्ष केबुलकार चढ्ने कूल सङ्ख्या १० लाख पुगेको छ । केबुलकार चढ्दा भारतीय पर्यटकले दुईतर्फीको रु ८०० तिर्नु पर्दछ । नेपालीका लागि रु ६४० छ भने सार्कका लागि १० डलर र बाह्य देशका लागि २० डलर लिने गरिएको छ । भारतीय सङ्ख्या धेरै भए पनि अन्य देशको भने एक प्रतिशत हाराहारी मात्र रहेको कायस्थले जानकारी दिए  ।

धेरै भारतीय तीर्थयात्री ठूला बसमा खाना पकाउने व्यक्ति र भाँडासहित आउने गर्दछन् । केबुलकारको चितवनतर्फको स्टेशन रहेको क्षेत्रमा खाना पकाउन र खानका लागि ठाउँसमेत व्यवस्था मिलाइएको छ । न्यूनतम शुल्कमा पानी, बिजुली, शौचालयसहितको सुविधा सम्पन्न ठाउँको व्यवस्था गरिएको छ । जाडो र वर्षातको समयमा भने भारतीय कम आउने गरेको देखिएको छ ।

सवारी साधन लिएर नेपाल घुम्न आउने भारतीय पर्यटकका लागि मुख्य पर्यटकीय गन्तव्यको बाटोमा पर्ने भएकाले पनि भारतीय पर्यटक बढी आउने गरेको कायस्थ बताछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button