तनहुँका कृषकलाई मौरीसहितको घार वितरण

पोखरा न्यूज – १८, जेठ । मुख्यमन्त्री नमूना कृषि गाउँको रुपमा छनोट भएको तनहुँको भानु नगरपालिका–११ बाँसखर्कका बासिन्दालाई मौरीसहित घार वितरण गरिएको छ ।

गण्डकी प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १५ घरधुरीलाई ६० घार वितरण गरेको हो ।स्थानीयवासीलाई आयआर्जनमा सघाउन र गाउँलाई नमूना गाउँको रुपमा विकास गर्ने उद्देश्यसहित करीब रु सात लाख बराबरको मौरीसहित घार वितरण गरिएको मन्त्रालयका कृषि प्राविधिक बन्दना पुलामीले जानकारी दिइन् । उनका अनुसार स्थानीयवासीलाई आधारभूत मौरीपालन तालीम पनि दिइएको थियो ।

मुख्यमन्त्री नमूना कृषि गाउँअन्तर्गत बाँसखर्कमा ५८ घरधुरी आबद्ध लालीगुराँस कृषक समूह गठन गरिएकामा ३३ कृषकलाई बाख्रापालन तथा घाँस व्यवस्थापन र प्लाष्टिक घर, थोपा सिँचाइ, मलचिङ प्रविधिको तरकारी खेती तालीमसमेत प्रदान गरिएको छ । छनोट भएको यस ठाउँलाई हरियाली बनाउन वृक्षरोपण कार्यक्रमलाई समेत तीव्रता दिइएको छ भने सरसफाइका लागि डस्टबिन वितरण गरिएको छ । पुलामीका अनुसार एभोकाडो, शितलचिनी रोपणको कार्यक्रम, नर्सरी व्यवस्थापनलगायत कामसमेत भइरहेको छ ।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १० लाखको सहयोगमा यस ठाउँमा घरबाससमेत निर्माण भइरहेको छ । बाँसखर्क सामुदायिक होमस्टेका अध्यक्ष यामबहादुर गुरुङका अनुसार घरबासका लागि पाँच वटा घर निर्माण भइरहेको छ । त्यस्तै बाटोमा ढुङ्गा छाप्ने काम ८० प्रतिशत सकिएको उनले जानकारी दिए । प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्ने उद्देश्यबमोजिम भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका चार गाउँलाई नमूना कृषि गाउँको रुपमा छनोट गरिएको थियो ।

छनोट भएका गाउँको ५० घरधुरीबाट एक/एक सदस्य रहने गरी कृषि सहकारी वा समूहमार्फत् त्यहाँको मौसम तथा हावापानी सुहाउने गरी पशुपालन, तरकारी खेती, कुखुरा, माछा तथा अन्य खाद्य तथा नगदेबाली उत्पादनका लागि प्रोत्साहित गरिने छ । छनोट भएका प्रत्येक गाउँलाई पहिलो वर्ष रु ३० लाखका दरले अनुदान उपलब्ध गराउने र चौथो वर्षसम्म प्रत्येक वर्ष ५० प्रतिशत रकम घटाउँदै लगेर त्यसपछि स्थानीय तहलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button