पोखरामा चोरीको विगविगी : एकै रातमा ६ घरका ८ कोठामा चोरी

पोखरा न्यूज – १८, जेठ । पोखरामा चोरीको विगविगी बढेको छ ।  पोखरा महानगरपालिका- ३ नदीपुर भिसि मार्गमा गएराति ६ वटा घरका ८ वटा कोठामा चोरी भएको हो ।  पोखरामा एक महिना अघि पोखरा १९ को वडा कार्यालय सहित उक्त क्षेत्रको ४ वटा ठाँउमा एकै रातमा चोरी भएको थियो भने केही समय अघि पोखरा महानगरपालिका वडा नम्मर ५, १३, १४, १५ र १६ मा समेत चोरी भएको थियो ।

भिसिमार्गमा दुई वटा किराना पसल सहित विद्यार्थीहरुको कोठाको ताल्चा फोरी कोठामा चोरी भएको स्थानियले बताएका छन्। करिब एक सय मिटरको दुरीमा सडक वारिपारीका पसल तथा घरमा नाटकिय ढंगबाट मान्छे भएका कोठाहरुमा बाहिरबाट चुक्कुल लगायर चोरी गरेको स्थानियले गुनासो गरेका हुन् । चोरी हुँदा स्थानिय माया गुरुङ सबै भन्दा बढी मर्कामा परेकी छन्।

उनले संचालन गरेको मोनिका किराना पसलबाट एक तोला सुन सहित दुई लाख रुपैया नगद चोरी भएको गुरुङले गुनासो गरिन् । आफन्तबाट सापट लिएको रकम र पसलमा सामान खरिद गर्नको लागि जम्मा पारेको एक लाख ७५ हजार बाँकी २५ हजार खुद्रा रकम गए राति पसल फोरेर चोरी भएको माया गुरुङले बताइन । सुनको औठी र जन्तरको सुन आधा/आधा तोला गरी एक तोलाको सुन चोरी भएको उनले बताइन् ।

सुन जडान भएको जन्तर भने बिहान धारामा सुन निकालेको अवस्थामा भेटिएको गुरुङले बताइन । निरास मुद्रामा रहेकी गुरुङले चोरीको समुहले सुन, पैसाको साथमा आफ्नो नागरिकता समेत लगेको गुनासो गरिन । चोरको समुहले विभिन्न कोठामा चोरी गर्दा प्रयोग गरेको फलामे रड र हासिया समेत भेटिएको छ ।  स्थानिय पवित्रा शर्मा राति करिब ३:४५ बजे उठ्दा खस्याङ खस्याङ गरेको थाहा पाए पनि मुसाले होला भनेर कुनै वास्ता नगरेको बताइन्।

त्यसै गरी उनको पसल भन्दा सडक पारि वा माथि पर्वत किराना स्टोर्स, मम पसल र प्रशंसा फ्रेस हाउसमा चोरी भएको छ । लगातार रहेका तीन वटा पसलमा चोरी भएको हो । पसलसंग जोडिएका दुई वटा कोठामा बाहिरबाट चुक्कुल लगायर चोरी भएको स्थानियले बताए । उक्त किराना पसलबाट करिब ३ हजार मुल्य बराबरको रिचार्ज कार्ड , एक काटुन वियर र मःम पसलबाट ५ सय र एक वट्टा चुरोट चोरी भएको पसल संचालक खेम बहादुर महतले बताए ।

फ्रेस हाउसबाट ५ सय रुपैया चोरी भएको बताइन्छ । उक्त पसल भन्दा करिब ५० मिटर माथि उत्तर तर्फ गिता पौडेलको घरमा २ वटा विद्यार्थीहरु बस्ने गरेको कोठा फोरेर चोरी भएको छ । विद्यार्थी बस्ने ४ वटा कोठामा भने चोरको समुहले राति करिब ४ बजे तिर बाहिरबाट चुक्कुल लगाएको हिरामणि लम्सालले बताए ।

आफ्नो कोठामा मात्र कसैले चुक्कुल लगाएको होला भनि घर भेटिलाई खबर गरी चुक्कुल खोल्न लगाएको उनले जनाए । राति पिसाप फेर्न जान खोज्दा कसैले बाहिरबाट चुक्कुल लगाएको थाहा लागेको लम्सालले बताए । त्यस्तै मोनिका पसल भन्दा करिब २० मिटर पश्चिम तर्फको दुई वटा विद्यार्थीको कोठामा चोरी भएको छ ।

प्रतिक्षा थापा र अम्बिका नेपालीको कोठामा चोरको समुहले कोठामा लगाएको ताल्चा फोडेर कोठामा रहेको रकम र महत्वपूर्ण सामान चोरी गरेको छ । विद्यार्थीहरु कोठामा नभएकोेले उनीहरुको के कति सामानहरु चोरी भएको छ त्यसको बारेमा हाल थाहा नभएको बताइन्छ । यस बिषयमा चोरी गर्ने समुहको खोजी कार्य भइरहेको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. रविन्द्रमान गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button