पर्यटकीय केन्द्र बन्दै म्याग्दीको रुप्से झरना

पोखरा न्यूज – २१, जेठ । अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनामा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड लाग्न थालेको छ ।

बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने रुप्से झरनामा पूर्वाधार निर्माण भएपछि यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको सङ्ख्या बढ्दै गएको हो ।

विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन् । रुप्से झरना र अन्धगल्छी उच्च पर्यटकीय सम्भावना भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन भने सकिराखेका छैनन् । पर्यटकहरुलाई निःशुल्क अवलोकन गर्न दिइँदा लाभ लिन नसकेको स्थानीयवासीले बताएका छन् ।

झरनामा रमाउनका लागि आएका पर्यटकहरु सडकमा नै गाडी रोकेर झरनाको अवलोकनमा मुग्ध बनेपछि सडकसमेत अवरुद्ध हुने गरेको छ । रुप्से झरना र अन्धगल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग र अवलोकनका लागि भ्यू टावरका साथै अवलोकनकर्ताका लागि उचित बास र शौचालयको समेत व्यवस्था गरिएको छ ।

बेनीका युवा सुवर्ण केसीले रुप्सेमा रमाउन आउनेहरुलाई लक्षित गरी रेष्टुरेण्ट पनि सञ्चालन गरेपछि रातको १० बजेसम्म यहाँ पर्यटकहरुको भीड लाग्ने गर्छ । पछिल्लो तीन वर्षयता हिमाली जिल्ला मुस्ताङमा स्थलमार्ग हुँदै भ्रमणमा जाने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ । ती पर्यटकहरु यही झरना देखेर लोभिने गर्छन् ।

विसं १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिए पनि अहिले उक्त टिकट प्रचलनमा छैन । साबिकको दाना गाविसले झरना र अन्धगल्छीको मुख्य भागसम्म पुग्ने पदमार्ग तथा भ्यू टावर निर्माण गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर पुनले आधारभूत आवश्यकताको पूर्वाधार विकासमा गाउँपालिकाले अब प्राथमिकताका साथ बजेट विनियोजन गर्ने बताए । झरनामा कान्छा भूमेदेवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महीनामा स्थानीयवासीले बोको बलि चढाउने गर्छन् । झरनालाई धार्मिक दृष्टिकोणले समेत पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना देखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button