बेनी-लभ्ली हिल पदमार्गको निर्माण कार्य तीव्र

पोखरा न्यूज – २१, जेठ । म्याग्दीको पर्यटकीयस्थल लभ्ली हिल जाने पदमार्गको निर्माण तीव्र गतिमा अघि बढेको छ । म्याग्दीको सदरमुकाम बेनीबाट छोटो र सुन्दर गन्तव्यका रुपमा विकसित भइरहेको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको पर्यटकीयस्थल लभ्ली हिल पुग्ने पदमार्गको निर्माण दुई सातायता तीव्र गति भइरहेको हो । यसअघि आवश्यक जनशक्तिको अभाव तथा विविध कारणले सो पदमार्गको निर्माण रोकिएको थियो ।

म्याग्दी नदीमाथि रहेको बेली ब्रिज नजीकबाट लभ्ली हिलसम्म पुग्ने पदमार्गको निर्माण बेनी नगरपालिका, प्रवासी र निजी क्षेत्रको सहकार्यमा भइरहेको छ । पर्यटन विकासका लागि लभ्ली हिलसम्म पुग्नका लागि मोना–बेनी–लभ्ली हिल पदमार्ग नामकरण गरिएको सो पदमार्गको शिलान्यास गत भदौ ८ गते गरिएको थियो ।

बेनी–बगरफाँट सडक नजीकबाट शुरु गरिएको पदमार्गको ढलानसहित आवश्यक संरचना बनाउने कार्य धमाधम भइरहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई सहज आवतजावतका साथै नगरपालिकाभित्रका पर्यटकीय गन्तव्यलाई चिनाउने अभियानअन्तर्गत निर्माण गरिने पदमार्गका लागि बेनी नगरपालिकाले ५० प्रतिशत, मोना आइसीले ४० र म्याग्दी उवा सङ्घले १० प्रतिशत रकम बेहोर्ने त्रिपक्षीय सहमति भएको थियो ।

हालसम्म मोना आइसीले सम्झौताअनुसार १५ लाख उपलब्ध गराइसकेको मोना आइसीका उपाध्यक्ष एवम् पदमार्ग संयोजक ओमनारायण जुग्जालीले बताए । ३९५ मिटर उकालोमा एक दशमलव आठ मिटर चाक्लो, पक्की सिँढी र दायाँबायाँ रेलिङसहितको पदमार्ग निर्माण गर्न मोनाले करीब ३२ लाख आर्थिक सहयोग गर्नेछ । पदमार्गको प्रारम्भिक चरणमा रु ५७ लाख आठ हजार ९०६ लागत अनुमान गरिए पनि हाल ७९ लाखमा पदमार्ग सम्पन्न गर्ने गरी काम भइरहेको छ । पदमार्गको करीब २०० मिटर निर्माण बाँकी रहेको छ ।

पदमार्गसँगै नगरपालिकाले लभ्ली हिलमा युद्ध स्मारिका पार्कसहित डिभिजन वन कार्यालयले समेत वनवाटिका बनाइरहेको बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले बताए । उनले पदमार्गलाई नगरपालिकाले समेत प्राथमिकता दिएको बताए । सामुदायिक वन उपभोक्ता समितिलाई समेत आम्दानी हुने गरी फलफूलका बिरुवाका साथै ठाउँठाउँमा आवश्यकता  अनुसार सानो बगैचा बनाएर विश्रामस्थल निर्माण गर्ने योजना छ ।

बेनीको शिरमा अवस्थित लभ्ली हिलमा नगरपालिकासहित विभिन्न सङ्घसंस्थामार्फत आरामदायी बेञ्च, गोलघर (भ्यू प्वाइन्ट), चौतारीलगायतका संरचना बनेका छन् । बेनीदेखि आधा घण्टाको दूरीमा रहेको लभ्ली हिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम र भकिम्लीको स्वर्गाश्रम उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौँ अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button